लन्डन । घान्द्रुक समाज यूकेले १६ औं वार्षिक भेला विभिन्न कार्यक्रमहरुसहित भव्यता साथ मनाएको छ ।
यही २ अगस्ट २०२५ शनिबार अल्डरसटस्थित एम्पायर हलमा समाजका अध्यक्ष देवबहादुर गुरुङको सभापतित्वमा एक विशेष समारोहबीच वार्षिक भेला सम्पन्न गरिएको हो । सभापति देवबहादुर गुरुङ, संस्थापक अध्यक्ष मेजर उदयबहादुर गुरुङ र आमा समूहका अध्यक्ष हिरादेवी गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । पच्यु गुरु बुद्धि तमु र आमा समूहले झकिझकाउ गरी सजाएको पूजाथानमा बत्ति बालेर मन्त्रोच्चरण गर्दै घान्द्रुक क्षेत्रको आस्थाको केन्द्र मेश्रम बराहको पूजा आराधना गरिएको थियो ।
कार्यक्रमका आमन्त्रित अतिथिहरुमा तमुधीं यूकेबाट अध्यक्ष दम्पती जुमकाजी गुरुङ र अध्यक्ष कमला गुरुङ, तमु प्ये ल्हु संघ यूकेबाट अध्यक्ष दम्पती क्या.डेमबहादुर गुरुङ र उनकी धर्मपत्नी, तमु समाज यूकेबाट अध्यक्ष दम्पती बिन्दु कुमारी घले (गुरुङ), गैरआवसीया नेपाली संघ यूकेबाट निवर्तमान अध्यक्ष दम्पती हितकाजी गुरुङ र श्रीमती मञ्जु (सीता) गुरुङ, मिडिया क्षेत्रबाट गोर्खा मिडियाबाट मिलन तमु, शितल पाटीबाट बाचस्पति रेग्मीसहित अन्य समाजका विशिष्ट व्यक्तित्वहरु थिए ।

औपचारिक कार्यक्रम महासचिव नरकाजी गुरुङ र सचिव बिमल गुरुङले संचालन गरेका थिए । अनौपचारिक कार्यक्रमहरु कार्यक्रम अनुसारको संयोजकहरुले क्रमश: संचालन गरेका थिए । समाजका प्रथम उपाध्यक्ष रोशन गुरुङले स्वागत मन्तव्य राख्नको साथै सेफ्टीबारे जानकारी दिए । त्यसलगत्तै नेपालबाट यूके आएका घान्द्रुके लोक तथा दोहोरी गायक बिमल परियारले गीत गाएर दर्शकको मन ध्यान एकीकृत गरे ।
स्वागत तथा सम्मान कार्यक्रममा यो वर्ष विभिन्न विश्व विद्यालयहरुबाट ग्राज्युयट गरेका ५ जना नानीहरुलाई सम्मान गरिएको थियो । त्यस्तैगरी यो वर्षमा विवाह बन्धनमा बाँधिएका ३ जोडी नानीहरुलाई पनि सम्मान गरियो । समाजका सदस्यहरु जसले बेलायतमा रहेर विभिन्न कम्पनीहरुमा उच्च पदहरु हासिल गर्न सफल व्यक्तित्वहरु, समाजका सदस्य भएर अरु संघसंस्थातिर नेतृत्व तहमा रहेर काम गरेकाहरु, व्यवसायमा लागेर काम गरिरहेका सफलहरु, समाजलाई आर्थिक सहयोग गर्नेहरु र हाल नेपालबाट भ्रमण भिसामा आई बेलायतमा रहेका घान्द्रुके गायक बिमल परियारलगायत सबैलाई स्वागत तथा सम्मान गरिएको थियो ।
सोही दिन घान्द्रुकको मेश्रम बराह माविका पूर्वप्रधानाध्यापक तोयानाथ पौडेलले आफू घान्द्रुकमा १४ वर्ष रहँदाको अनुभवलाई समेटेर लेखेको '१४ वर्ष घान्द्रुकमा'नामक स्मृति ग्रन्थ पुस्तकलाई घान्द्रुक समाज यूके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानले सम्पादन, व्यवस्थापन र संयुक्त रुपमा प्रकाशन गरी बजारमा ल्याउन लागेको पुस्तक र साथै साहित्यकार विशु समद्वारा लेखिएका 'परदेशी भूमि' नामक पुस्तक संयुक्त रुपमा घान्द्रुक समाजका अध्यक्ष देवबहादुर गुरुङ, संस्थापक अध्यक्ष मेजर उदयबहादुर गुरुङ, पूर्वअध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ, सितलपाटी पत्रिकाका सम्पादक तथा व्यवस्थापक बाचस्पति रेग्मी, हङकङबाट हाल भिजिटको क्रममा बेलायतमा रहेका घान्द्रुके साहित्यकार विशु समलगायतले लोकार्पण गरेका थिए । यस्तै '१४ वर्ष घान्द्रुकमा' नामक पुस्तकको सम्पादन तथा व्यवस्थापन मण्डलको संयोजक साथै यसै समाजका निवर्तमान अध्यक्ष नारायणसिंह गुरुङले लोकार्पण कार्यक्रम संचालन गरेका थिए र सो क्रममा त्यस पुस्तक र लेखकहरुको बारेमा प्रकाश पारेका थिए ।

त्यस्तैगरी २० वर्ष मुनिको नानीहरुलाई लक्षित गरी संचालन गर्ने गरेको गुरुङ भाषा प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । कार्यक्रमलाई नारायणसिंह गुरुङ र अमरप्रसाद गुरुङले संचालन गरेका थिए भने देवसिंह गुरुङ, श्रीमति शर्मिला गुरुङ र फूलमाया गुरुङले मूल्यांकनकर्ताको भूमिका निभाएका थिए । यस वर्ष ४ जना नानीबाबुहरुले भाग लिएकोमा १२ वर्षका सुयोग दर्शन गुरुङले प्रथम स्थान हासिल गरी रनिङ शिल्ड र नगद पुरस्कार हात पार्न सफल भए । उक्त प्रतियोगितामा दोस्रो प्रिशा दर्शनी गुरुङ, तेस्रो प्रेराज गुरुङ, चौथो सिजोय गुरुङ बनेका थिए ।

कार्यक्रमको संयोजक तथा संचालकद्वय गुरुङले रैथाने गुरुङ भाषाको विशेषता, संरक्षण गर्नुपर्ने आवश्यकता र समाजले भाषा जोगाउने अभियानको क्रममा गत १३ वर्षदेखि लगातार यो प्रतियोगिता आयोजना गर्दै आएको कुरामाथि प्रकाश पारेका थिए । यसै क्रममा सधैँझैँ वयस्कहरुलाई पनि गुरुङ भाषाको बिर्सन लागेका पुराना शब्दहरु सोधेर पुरस्कारको पनि व्यवस्था गरेर मनोरन्जनको साथै ज्ञानवर्दक कार्यक्रम संचालन गरेका थिए ।
त्यस्तैगरी समाजले राफल ड्र को कार्यक्रम पनि संचालन गरेका थिए । राफलड्रको लागि आकर्षक पुरस्कारस्वरुप समाजले सधैंझैँ यस वर्ष पनि प्रथम पुरस्कारस्वरुप आधा तोला सुन र बाँकी नगद पुरस्कारहरुको व्यवस्था गरेर मनोरन्जन कार्यक्रम गरेका थिए । यस वर्षको प्रथम पुरस्कार अनिता गुरुङले जित्न र पुरस्कार आधा तोला सुन हात पार्न सफल भइन् । उक्त कार्यक्रमलाई राफल ड्र कार्यक्रम संयोजकद्वय राजकुमार गुरुङ र पुनम गुरुङले संचालन गरेका थिए ।
हरेक विधाको कार्यक्रमहरुको बिच बिचमा आफ्नै गाउँकै कलाकारहरुको नृत्यको बेजोड प्रस्तुतिले कार्यक्रम एकदमै रोमान्चित भएका थिए । यसमा सुनमा सुगन्ध थप्न बिमल परियारले पनि बीच बिचमा गाएका थिए ।
अन्तमा बिमल परियारकै गीतमा सामूहिक रुपमा नाच्दै रमाइलो गर्दै साँझ झन्डै ९ बजे कार्यक्रम अन्त भएको थियो ।उक्त मनोरन्जन कार्यक्रम संस्कृति संयोजक रामबहादुर गुरुङले संचालन गरेका थिए ।






