लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ ।
बुधवार नर्थ वेस्ट लन्डनमा आयोजित मिट एन्ड ग्रीट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी अध्यक्ष शर्मालाई एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले दोसल्ला ओढाएर सम्मान गर्दै पत्रकारितामा उनको योगदानको प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् । उनले प्रविधिको माध्यमबाट भौगोलिक दूरीका बाबजुद पनि नेपाली समुदाय एकापसमा जोडिन सफल भएको बताइन् ।

उनले आफूलाई सम्मान गरेकोमा एनआरएनए यूकेलाई धन्यवाद दिइन् । एनआरएनएभित्र सबै पक्षलाई समेटेर लैजानु संस्थापन पक्षको जिम्मेवारी भएको बताउँदै एकताको खाँचो औँल्याइन् ।
अध्यक्ष शर्माले गैरआवासीय मुद्दाहरूमा नेपाली सञ्चारमाध्यम सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन् । साथै, महासंघको यूके शाखाभित्र उत्पन्न समस्या आन्तरिक भएको बताउँदै उनले समाधान पनि शाखाभित्रबाटै खोज्नुपर्ने सुझाव दिइन्।
संघका उपाध्यक्ष रामशरण सिमखडाले नेपाल पत्रकार महासंघसँग लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाभित्रको विवाद समाधान प्रक्रियागत तरिकाले अघि बढाउन आग्रह गरे । कार्यक्रममा बोल्दै एनआरएनए यूकेका सल्लाहकार चिरञ्जीवी ढकालले पत्रकार महासंघको नेतृत्वमा महिला हुनु गौरवको विषय भएको बताए ।
वरिष्ठ पत्रकार सुमन खरेलले अध्यक्ष शर्माको भ्रमणले नेपाल र बेलायतका पत्रकारबीच अनुभव आदानप्रदानको अवसर जुटाएको बताए । उनले महासंघको शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीचको एकता कायम राख्न आग्रह गरे ।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रवक्ता श्याम लुइँटेलले गरेका थिए । संघकी नवनिर्वाचित उपाध्यक्ष डा. रक्षा थापाले स्वागत मन्तव्य दिँदै पत्रकार महासंघको महिला नेतृत्व सबैका लागि प्रेरणादायी रहेको बताइन् ।
कार्यक्रममा एनआरएनए यूकेका विभिन्न पदाधिकारी, पत्रकार तथा सामाजिक अगुवाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विमला सेने, इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष राममाया विष्ट, महिला संयोजक बिनु लामिछाने, प्रवासी नेपाली मञ्च यूकेका पूर्वअध्यक्ष दिनेश घिमिरे, आईसीसी सदस्य तुंगभद्र भुसाल र सरस्वती केसीलगायत सहभागी थिए ।