लन्डन । धम्पुस परिवार यूकेको १७औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार ३ अगस्ट २०२५ मा अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन अत्यन्तै भव्य, मर्यादित र सफलतापूर्वक सम्पन्न भएको हो । अध्यक्ष कुमार गुरुङ र संरक्षक मेजर खुशीमान गुरुङ एमभीओले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । त्यसपछि प्रथम उपाध्यक्ष धनबहादुर गुरुङले उपस्थित सबैजनालाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव गोलमान गुरुङले गरेका थिए ।
सातौँ कार्यसमिति चयनका लागि गठन गरिएको निर्वाचन मण्डलमा संरक्षक गुप्तबहादुर गुरुङ, संरक्षक मेजर खुशीमान गुरुङ, एमभीओ., संस्थापक उपाध्यक्ष लेफ्टेनेन्ट ललित गुरुङ, पूर्वअध्यक्ष अमर गुरुङ र निवर्तमान अध्यक्ष इन्द्र (नारन) गुरुङ रहेका थिए । निर्वाचन प्रक्रिया अत्यन्तै पारदर्शी, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिमा धनबहादुर गुरुङ अध्यक्ष, गोलमान गुरुङ प्रथम उपाध्यक्ष, अमर गुरुङ उपाध्यक्ष, चीजकाजी गुरुङ महासचिव, अमृतमान गुरुङ सचिव, राजेन गुरुङ कोषाध्यक्ष, रामबहादुर गुरुङ सहकोषाध्यक्ष, साथै अम्बर गुरुङ र टीकाप्रसाद (बोता) गुरुङ कार्यसमिति सदस्य पदमा सर्वसम्मतिले चयन भएको घोषणा गरियो ।
कार्यक्रममा लेफ्टेनन्ट ललित गुरुङले धम्पुस परिवार यूकेको स्थापना, उद्देश्य र प्रारम्भिक यात्राबारे संक्षिप्त ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे । त्यसैगरी संरक्षक मेजर खुशीमान गुरुङ, एमभीओले संस्थाको विकासमा योगदान पुर्याउने पूर्वपदाधिकारीहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै संस्थाको गौरवमय यात्रालाई स्मरण गरे ।
सभामा समाजसेवी तथा सफल व्यवसायी एवं तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङ (झग्रे), श्रीमती मञ्जु गुरुङ र अन्य सदस्यहरूबाट पनि नवनिर्वाचित कार्यसमितिलाई बधाई दिइएको थियो ।

नवनिर्वाचित अध्यक्ष धनबहादुर गुरुङले आफूलाई अध्यक्ष पदमा चयन गरिदिएकामा निर्वाचन मण्डलप्रति आभार प्रकट गर्दै सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे । उनले संस्थाको गौरवशाली इतिहास, समर्पित नेतृत्व र एकताको परम्परालाई अझ सशक्त बनाउँदै उत्तरदायी, पारदर्शी र प्रेरणादायी नेतृत्व दिने दृढ प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम दिउँसो १२ बजे सुरु भई साँझ ६ बजे म्म अत्यन्तै अनुशासित, उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
अन्त्यमा निवर्तमान अध्यक्ष कुमार गुरुङले आफ्नो कार्यकालमा भएका गतिविधिहरू र संस्थाको समग्र अवस्थाबारे जानकारी दिए । साथै यस महत्वपूर्ण सभामा उपस्थित भई साथ, समर्थन र मनोबल प्रदान गरेका सम्पूर्णप्रति उनले धन्यवाद र गहिरो कृतज्ञता व्यक्त गरे ।


