मिचेट, बेलायत । ताङले समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
आइतबार ३ अगस्टमा मिचेटस्थित तमुधीं यूके भवनमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा विभिन्न व्यक्ति सम्मान, सांस्कृतिक कार्यक्रमसहित वार्षिक भेटघाट सम्पन्न भएको हो । अध्यक्ष जुमकाजी गुरुङ,नेपालबाट आएका विशिष्ट अतिथि ताङले समाज पोखराका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ र ज्येष्ठ नागरिक तुलबहादुर गुरुङले क्यान्डल बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले भेटघाट कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए । त्यसपछि स्नातक (ग्र्याजुएट) भएका विद्यार्थी, नवदम्पती तथा सन्तान प्राप्त गरेका परिवारहरूलाई बधाई तथा सम्मान गरिएको थियो । यसैगरी गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई फेटा र खादा अर्पण गर्दै सम्मान गरिएको थियो । सोही अवसरमा नयाँ सदस्यहरूलाई स्वागतसमेत गरिएको थियो ।

नेपालबाट आएका चर्चित कलाकारहरु पवित्रा गुरुङ र प्रिया गुरुङले सांगीतिक प्रस्तुति विशेष आकर्षण थपिएको थियो ।
यसैगरी अध्यक्ष जुमकाजी गुरुङ तमुधीं यूकेको अध्यक्षमा निर्वाचित भएकोमा ताङले समाजका पदाधिकारी तथा सदस्यहरूले फेटा, भाङ्ग्रासहित सम्मान गरेका थिए । सँगै तमुधीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङलाई पनि बुकीसहित सम्मान गरिएको थियो ।

महासचिव मनोज गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिँदै कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष विक्रम गुरुङले कार्यक्रम संयोजन गरेका थिए ।
कार्यक्रममा चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीसहित समाजका पदाधिकारी,सदस्यलगायतको बाक्लो उपस्थिति थियो । सहभागीहरु खानपिन, रमाइलो र आपसी भलाकुसारीको साथ कार्यक्रममा रमाएका देखिन्थे ।






