फार्नबोरो, बेलायत । सार्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार २ अगस्टमा फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकद्वय डिलबहादुर गुरुङ र रुद्रबहादुर गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष चक गुरुङले स्वागत मन्तव्य राखेका थिए भने स्वास्थ्य तथा सुरक्षाबारे जानकारी र कार्यक्रम सञ्चालन महासचिव खड्क गुरुङले गरेका थिए ।
कार्यक्रमको सुरुवाती चरणमा ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकहरु पुरुषलाई भाङ्ग्रा र महिलाहरूलाई पछ्यौराले स्वागत, सम्मान गरिएको थियो । त्यसपछि ग्र्याजुएसन, मास्टर्स शैक्षिक उपलब्धि हासिल गरेका, आर्मी या अन्य क्षेत्रमा प्रमोसन भएका, नव विवाहित जोडी, नयाँ सन्तान प्राप्ति गरेकाहरूलाई बधाई तथा शुभकामना दिइएको थियो । सम्मान प्राप्त गर्नेहरूले समाजका लागि नगद दान गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएकी अतिथि कलाकार एवं लोक तथा दोहोरी गायिका देवी घर्ती मगरले गुरुङ भाषा र नेपाली भाषाका गीत गाएर मनोरञ्जन दिलाएकी थिइन् । त्यसअघि स्थानीय कलाकार नानीहरूबाट नृत्य, गायन प्रस्तुति भएको थियो ।
कार्यक्रममा राफल ड्र खेलाइएको थियो भने आमन्त्रित ज्वाइँ, चेली, भान्जा भान्जीसहित उपस्थित सबैलाई डिनर प्रबन्ध गरिएको थियो । खानपिनसहित उपस्थित पाहुनाहरू सामूहिक नृत्यमा झुमेका थिए ।
कार्यक्रममा उपस्थित ज्वाइँ हर्क गुरुङले भने, 'सालो, जेठान, सासू, ससुराले निम्तो गर्नुहुन्छ । हरेक साल कार्यक्रममा आउने गर्छु । एकदमै खुसी लाग्छ ।'
महासचिव खड्क गुरुङले हरेक वर्ष ज्वाइँ, चेली, भान्जाभान्जीलगायतलाई निमन्त्रणा गर्दै सामूहिक भेटघाट गर्ने,स्वागत गर्ने र दिनभरि रमाइलो गरेर खानपिन गरी छुटिने वार्षिक भेटघाट कार्यक्रमको विशेषता रहेको बताए । उनले सार्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा वार्षिक रूपमा सहभागी संख्या समेत बढ्दै गएको जानकारी दिए ।

कार्यक्रम सफल पार्न उपस्थित ज्वाइँ, चेली, भान्जा भान्जी,अतिथि, पत्रकार तथा कार्यक्रम सफल बनाउन खटिने र प्रायोजन गर्नेहरू र फोटोग्राफी र भिडियोग्राफी गरेका गोर्खा मिडियालाई धन्यवाद दिए ।
सार्दीखोला समाज यूकेका सल्लाहकार सूर्य गुरुङले एक आपसमा भेटघाटका लागि कार्यक्रम गरिँदै आएको बताए । उनले सार्दिखोला समाज खादरजोङ, च्याङ्लुङ, घलेखर्क, काभ्रे, कोटघररी, चिप्लेटलगायत गाउँहरूबाट बेलायत आएर बसोबास गर्नेहरूको साझा संस्था भएको प्रस्ट पारे ।
सार्दीखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङले पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ नम्बरअन्तर्गत आठ वटा गाउँहरू रहेका र ती गाउँको बिचबाट बग्ने सार्दीखोला हो । ती गाउँहरूबाट बेलायत आएर विभिन्न ठाउँमा बसेका छन् । उक्त गाउँका चेलीबेटी, ज्वाइँ, चेली, भान्जा भान्जीलाई निमन्त्रणा गरेर सार्दीखोला समाज यूकेले वार्षिक भेटघाट गर्दै आएको प्रस्ट पारे ।
'हामी सामाजिक प्राणी हौँ । हामी जहाँ गए पनि संस्कार, संस्कृति, शास्त्र, रीतिरिवाज, भेसभुसाजस्ता सबै मौलिकता सँगसँगै जाँदो रहेछ । साथै सार्दीखोलामा समस्या पर्यो भने एकर्कामा मद्दत गर्ने । हरेक साल भेटेर दुःखसुख साट्ने भन्ने हिसाबले हाम्रो संस्था खडा भएको हो,' उनले भने, 'हाम्रा भावी सन्तानलाई कुन ठाउँ आएको भन्ने पहिचान नहुन सक्छ । त्यसैले वर्षमा एक पटक भेटेर हाम्रो भेसभुसा, संस्कार, संस्कृतिबारे जानकारी दिने, सिकाउने उद्देश्यले पनि भेटघाट कार्यक्रम गर्दै आएका छौँ ।'

अध्यक्ष गुरुङले उपस्थित ज्वाइँ, चेली, भान्जा भान्जी, अतिथिलाई सबैलाई धन्यवाद दिए । अध्यक्ष गुरुङका अनुसार भेटघाट कार्यक्रममा हरेक साल ३ सयभन्दा बढी भेला हुने गरेका छन् ।
सन् २००८ सालमा स्थापना भएको सार्दीखोला समाज यूकेले कोरोनाको समयमा बाहेक हरेक साल अगस्टको पहिलो शनिबार वार्षिक भेटघाट गर्दै आएको छ । यस्तै समाजले नेपालमा प्राकृतिक प्रकोप परेमा,विभिन्न रोगले थला परेकालाई सहयोग गर्छ भने सार्दिखोलाको विद्यालय, क्वोईबों धीं, गुम्बा निर्माणलगायतमा पनि सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।






