अल्डरसट । तमुधिं यूकेको आयोजनामा गुरुङहरु (तमु) को नयाँ वर्ष (ल्होछार) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा गत डिसेम्बर ३१ तारिख २०२२ का दिन सांस्कृतिक कार्यक्रमसहित ल्होछार कार्यक्रम मनाइएको हो । तमुधिं अध्यक्ष हित काजी गुरुङको अध्यक्षता, संयोजक तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङलगायत कार्यसमिति र आमा समूहको अग्रसरतामा भएको तमुधिंको २२औं ल्होछारमा एम्पायर हल खचाखच भरिएको थियो भने माथिल्लो तलको बालकुनीसमेत खाली थिएन ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमुहरु विदेशी भूमिमा भए पनि आफ्नो मातृभूमिको संस्कार, संस्कृति जोगाएर राख्ने प्रयास गरेको र सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई समेटेर नेपाली मेला, गोर्खा कपजस्ता बृहत् भेलाहरु सफलताका साथ गरेर तमुधिं यूकेले सराहनीय काम गरेको छ भन्दै ल्होछारको शुभकामना व्यक्त गरेका थिए । राजदूतवासबाट डीसीएम रोशन खनालको पनि उपस्थिति थियो । करिब चार दर्जन बढी पाहुनाहरुमात्रै उपस्थिति थियो ।
विभिन्न समाजका अध्यक्षहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु, फरक-फरक बरोका काउन्सिलरहरु, धर्मगुरुहरु, तमुधिंकै भूपू अध्यक्षहरु र मिडियाकर्मीहरुको उपस्थिति थियो । मुख्य अतिथि र विशेष अतिथि क्रमश: राजदूत आचार्य र डीसीएम खनाल, तमुधिं अध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहका अध्यक्ष सीता गुरुङबाट संयुक्त दिप प्रज्ज्वलन गरी कार्यक्रम प्रारम्भ भएको थियो ।
नेपाल र बेलायतको राष्ट्रिय गान गुन्जिएको बेला गुरुङहरु आफ्नै पहिरनमा राजदूत दौरा सुरुवालमा देखिँदा गौरवको क्षण अनुभव भएको देखियो । तमुहरुको मुखपत्र "फ्रेंसी" को विमोचन गरिएको थियो । तमुहरु भित्रका अब्बल विद्यार्थीमध्येकालाई दिइने स्व. डा. हर्क अवार्ड यसपटक स्मृति गुरुङले हात पारिन् । उनी मोतीप्रसाद गुरुङ र लक्ष्मी गुरुङका सुपुत्री हुन् । स्मृतिले "जेनरल सर्टिफिकेट अफ सेकेन्डरी ऐज्यूकेसनको" नतिजामा ११ वटा "ए स्टार" प्राप्त गरेकी थिइन् ।
तमुधिंमा उल्लेखनीय काम गरेबापत दिइने "कम्युनिटी सर्भिस अवार्ड" रातदूतको हातबाट विकाश गुरुङ, देवकला गुरुङ, विनोद गुरुङ, भुवानीप्रसाद गुरुङ बीईएम, मायारानी गुरुङ, मनिता घले, लक्ष्मी गुरुङ र शान्ति गुरुङले प्राप्त गरे । औपचारिक कार्यक्रम महासचिव परशु गुरुङले संचालन गरेका थिए ।
यसपटक तमुधिंको नयाँ कार्यसमिति चयन हुने साल भएकाले ल्होछारकै दिन नयाँ र पुरानो कमिटीबीच हस्तान्तरण कार्यक्रम भयो । निर्वाचित अध्यक्ष हरि गुरुङ र अध्यक्ष हितकाजी गुरुङ दुवैले मन्तव्य राखेका थिए । हित काजीले बोल्ने क्रममा भने, 'नवनिर्वचित अध्यक्ष हरि गुरुङ तमुधिंका लागि अतियोग्य व्यक्ति हुन् । जसरी मलाई दुई वर्ष सहयोग गर्नुभयो । त्यसरी नै तपाईंहरुले मद्दत निरन्तर दिनुहोला । अनि तमुधिं तपाईंहरुको सहयोगबिना चल्न सक्दैन । मेरो कार्यकालमा संस्थाका हितका लागि कहिलेकाहीं मैले भनेको मानिनँ होला । मेरो विवेक र विचार चलाएर सबैका भलोका लागि निर्णय गरेँ होला । कति साथीहरुलाई मन दुखाएँ होला । सबै मैले तमुधिंको हितको लागि गरेको थिएँ । कतै गल्ती भएछ भने भाइछोरा ठानी माफ गरिदिनहुन अनुरोध गर्दछु ।'
उनले प्रत्येक कार्यक्रमहरुमा प्रयोजन गर्ने मनकारी व्यवसायी साथीहरु, आमा टोली इकाईका साथीहरु र कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूलाई निरन्तर सहयोग गरिरहने श्रीमती सीता र छोरीलाई पनि धन्यवाद दिए ।
कार्यक्रमको पृथक् पक्ष वयोवृद्धद्वय मायारानी गुरुङ (८२) र लक्ष्मी गुरुङ (८४) ले तमुधिंप्रति पुर्याएको अतुलनीय सहयोगका लागि राजदूत आचार्यद्वारा "कम्युनिटी सर्भिस अवार्ड" बाट सम्मान गरिएको थियो । मायारानी गुरुङलाई दक्षिण पूर्वी लन्डन तमुधिं यूकेमा लामो समयदेखि योगदान गरेको भन्दै उक्त इकाईले समानका लागि सिफारिस गरेको थियो ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकमा रमाइला आइटमहरु प्रस्तुत भएका थिए । तमुधिं इकाईहरुबाट स्थानीयहरुको प्रस्तुति धेरैले मन पराएको देखिन्थ्यो । नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भीमु गुरुङले गुरुङ तथा नेपाली भाषाका लोकभाका अनि दोहोरी गीतमार्फत सबैलाई नचाए ।
शुभारम्भ नाच हेलिसा र पुनमको धेरैले मन पराए । लन्डन इकाई, रिडिङ तमु समाज, घान्द्रुक समाजको प्रस्तुति राम्रो रहेको सहभागीको प्रतिक्रिया थियो । नायिका लक्ष्मी गुरुङले पनि नाचेर सुनमा सुगन्ध भरेकी थिइन् । सूर्य गुरुङ, विभा गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले पालैपालो सांस्कृतिक कार्यक्रमको उद्घोषण गरेका थिए ।
कार्यक्रमको अर्को आकर्षण राफल ड्र (भाग्यशाली चिठ्ठा) थियो । पहिलो पुरस्कार एक तोला सुन र दोस्रो आधा तोला थियो । प्रायोजक क्रमशः न्यू लक्ष्मी ज्वलर्सका लक्ष्मी राई र पेपरवर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठ थिए । चिठ्ठाको पहिलो विजेता विश्वजङ्ग गुरुङ बने ।
कार्यक्रममा सहभागी अल्डरसट निवासी हितमान गुरुङले भने, 'यो पटक ल्होछार गज्जब भयो । ठाउँचाहिँ अर्को सालबाट अलि ठूलो खोज्नुपर्छ होला ।' १५ पाउन्डमा खानासहित र लाइफ मेम्बरहरुलाई फ्री को व्यवस्था गरेको भन्दै उनले अध्यक्ष हित काजी र आयोजकको तारिफ समेत गरेका थिए ।
अंग्रेजी नयाँ वर्षलाई पनि स्वागत गरी बिहान दुई बजेमात्र कार्यक्रम समापन गरिएको थियो ।'