लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले ३१औँ विश्व आदिवासी दिवसका रुपमा मनाउने भएको छ ।
आगामी अगस्ट ९ र १० मा किरात हाउस ग्याम्बल्सलेनमा विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउने तयारी रहेको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिए । दिवसका अवसरमा पहिलो दिन भलिबल प्रतियोगिता र दोस्रो दिन धनुषवाण, छेलो प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम हुने छन् ।
कार्यक्रमको पहिलो दिन शनिबार (अगस्ट ९) युथ, भेट्रान (पुरुष) र महिला समूहका टिमबीच भलिबल प्रतियोगिता आयोजना गरिनेछ।
दोस्रो दिन आइतबार (अगस्ट १०) धनुषबाण प्रतियोगिता, झाँकी प्रदर्शनी, छेलो प्रतियोगिता, नेपालबाट आएका चर्चित कलाकारहरुको सांगीतिक प्रतियोगिता तथा राफल ड्रसहितका विविध आकर्षक कार्यक्रमहरू रहने अध्यक्ष मेजर राईले बताए ।
भलिबल प्रतियोगिता युथतर्फ पहिलो पुरस्कार १६ सय पाउन्ड,उपविजेता टीमले १ हजार पाउन्ड पाउनेछन् ।
भेट्रान र महिला टिमका विजेता र उपविजेताले क्रमश: १ हजार पाउन्ड र ६ सय पाउन्ड पुरस्कार पाउने छन् ।
कार्यक्रमस्थलमा स्थानीय उत्पादनहरू, लत्ता–कपडा, घरायसी सामग्री र सूचनामूलक स्टलहरू राखिनेछन् । मनोरञ्जन सामग्रीसहित सहभागीहरूका लागि क्याम्पिङ सुविधा पनि प्रदान गरिने अध्यक्ष मेजर राईले जानकारी दिए ।
राफल ड्रको विशेष आकर्षणस्वरूप एक तोला सुन पुरस्कारस्वरूप राखिएको छ । बेलायतभर क्रियाशील नेपाली संघसंस्थाहरूलाई आयोजकले निमन्त्रणा गरेको छ ।