लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको १८औँ वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू सम्पन्न भएको छ । केन्टको गोडमर्साम एन्ड क्रन्डनडेल भिलेज हलमा भव्य रूपमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र उनकी धर्मपत्नी कमला गुरुङ रहेका थिए । विशेष अतिथिहरूमा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ र उनकी धर्मपत्नी, नेपालबाट बेलायत आएका पहिलो गुरुङ चलचित्रका निर्देशक एवं नायक प्रितम गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपालका पूर्वउपाध्यक्ष सन्तोष कोन्मे गुरुङ तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं वरिष्ठ फोटोग्राफर मिलन तमु रहेका थिए ।

विगतका वर्षझैं यस वर्ष पनि कार्यक्रम छेलो प्रतियोगिता, सांगीतिक प्रस्तुति र सांस्कृतिक नृत्यले भरिपूर्ण रह्यो । व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन कार्यसमितिका सदस्यबीच जिम्मेवारी बाँडफाँड गरिएको थियो । टिकट बिक्रीमा कोषाध्यक्ष मान गुरुङ र सहकोषाध्यक्ष सन्तोष गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा नरेन्द्र गुरुङ र विकास गुरुङ, छेलोमा सन्तोष गुरुङ, राफल ड्रमा लेडिज कोअर्डिनेटर ईशु गुरुङ र हीरा गुरुङले भूमिका निर्वाह गरेका थिए ।
बीबीक्यू र खानाको व्यवस्थापन फोक्स्टनस्थित विकास गुरुङको ‘द फ्लेमिन चिकेन’ रेस्टुरेन्टले गरेको थियो । फोटोग्राफीमा मिलन तमु र सन्तोष कोन्मेले साथ दिएका थिए । कार्यक्रमको औपचारिक सत्र महासचिव पवित्रा गुरुङले स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी दिँदै सञ्चालन गरेकी थिइन् । प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ममता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

परम्परागत छेलो हान्ने प्रतियोगिता यस वर्ष पनि आकर्षणको केन्द्र बन्यो । भेट्रान समूहमा मोहन गुरुङ र युवातर्फ श्याम गुरुङ विजेता बने । महिला र बालबालिका समूहमा क्रमशः संस्कृति लारा गुरुङ र निर्वाण गुरुङले उपाधि जिते । विजेताहरूलाई अध्यक्ष गोलमान गुरुङ र प्रतियोगिताका प्रायोजक पूर्वअध्यक्ष श्रीमती राजदेवी गुरुङले फेटा र खादा अर्पण गर्दै बधाईसहित पुरस्कार वितरण गरेका थिए ।
पहिलो चरणको कार्यक्रममा नयाँ कार्यसमितिलाई हार्दिक बधाई र पुरानो कार्यसमितिलाई सम्मानपूर्वक बिदाइ दिइयो । निर्वाचन समितिलाई विशेष धन्यवाद दिइयो र नयाँ सल्लाहकारलाई खादा अर्पण गरी स्वागत गरियो ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र धर्मपत्नी, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ र धर्मपत्नी, पहिलो गुरुङ चलचित्रका निर्देशक एवं नायक प्रितम गुरुङ, साथै चर्चित कलाकार पवित्रा गुरुङ र तिलक गुरुङलाई पनि खादा अर्पण गर्दै सम्मानपूर्वक स्वागत गरिएको थियो ।
त्यस्तैगरी बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट यूके आमासमूहकी अध्यक्ष दुर्गा गुरुङ र मञ्जुश्री माने मोन्लम तमु आमा समूहकी अध्यक्ष श्रीमती बलकुमारी गुरुङलाई पनि क्रमु र खादा अर्पण गर्दै हार्दिक बधाई तथा शुभकामना दिइएको थियो ।

नेपाली नृत्यकला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गर्दै रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ मा प्रतिस्पर्धा गरी बेलायतको केन्ट फर्किएका प्रतिभाशाली युवा कलाकार रोशन गुरुङलाई पनि समाजले फेटा अर्पण गर्दै हार्दिक बधाई तथा सम्मान गरेको थियो । यस अवसरमा समाजका नयाँ आजीवन सदस्यहरूलाई खादा अर्पण गरी सम्मानपूर्वक स्वागत गरिएको थियो ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक उमादेवी गुरुङ र सहसंयोजक निर्मला गुरुङको संयोजनमा सम्पन्न भएको थियो । यस अवसरमा समाजका नानीबाबुमध्ये क्रमशः योगी गुरुङ, मनिषा गुरुङ, संस्कृति गुरुङ र निग्चेन गुरुङले विविध आकर्षक नृत्यहरूको दमदार प्रस्तुति दिएका थिए । विशेष आकर्षणका रूपमा उदाउँदो युवा डान्सर रोशन गुरुङले समेत उत्कृष्ट प्रस्तुति दिएका थिए ।
-1753625647.jpg)
नेपालबाट सांगीतिक भ्रमणमा रहेका चर्चित गायिका पवित्रा गुरुङ र गायक तिलक गुरुङले गुरुङ तथा नेपाली गीतमार्फत दर्शकलाई झुमाउने उत्कृष्ट प्रस्तुति दिए ।
कार्यक्रमको अन्त्यमा लेडिज कोअर्डिनेटर ईशु गुरुङको नेतृत्वमा ‘राफल ड्र’ सञ्चालन गरियो । प्रथम भाग्यशाली विजेता मोहन गुरुङसहित अन्य भाग्यशाली विजेतालाई अध्यक्ष गोलमान गुरुङले पुरस्कार वितरण गरे ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गोलमान गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष समाजले नेपाली मेलामा सुन्दर नृत्य प्रस्तुति दिने जानकारी गराए । साथै बंशजको आधारमा नागरिकता निरन्तरतासम्बन्धी विषयमा समेत सबैलाई जानकारी गराएका थिए ।
यसपछि वृद्ध आमाबाबुदेखि युवा र बालबालिकासम्म सबै सहभागीले उत्साहपूर्वक रमाइलो नाचगानमा सहभागी भई कार्यक्रमलाई झनै उल्लासमय र अविस्मरणीय बनाएका थिए ।