लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । उनी अध्यक्षका अन्य दुई प्रतिस्पर्धी गोविन्द शर्मा खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पुडासैनीले १४ सय ८२ मत प्राप्त गरे भने खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत पाए ।
पुडासैनी नुवाकोटको साविक जिलिङ गाउँपालिका २ (हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा) हुन् । २५ वर्ष अगाडि बेलायत आएका उनले बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्तीर्णपश्चात् विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् ।
नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिसमेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् । बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि पुडासैनीले श्रमिकहरुको हकहितको पैरबी पनि गर्दैछन् । हाल इसेक्सको सर्लो सहरमा बस्दै आएका पुडासैनी बेलायतको विभिन्न सामाजिक संघसंस्थाको विभिन्न भूमिकामा रहँदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य बनेका थिए ।
एनआरएनए यूके खुला उपाध्यक्षमा उज्ज्वल कार्की १८ सय ८४ र डा रक्षा थापा १७ सय २७ मत पाएर निर्वाचित भए । उनीहरुका प्रतिस्पर्धी शम्भू अर्याल ११ सय ९६ र ज्ञानेन्द्र आलेले ९ सय ६१ मत प्राप्त गरे । स्कटल्यान्डबाट उपाध्यक्षमा शशी कार्कीलाई पराजित गर्दै रामप्रसाद कँडेल विजयी बने । कँडेलले १६ सय ८ प्राप्त गरे भने कार्कीको पक्षमा ११ सय ७४ मत परेको थियो ।
महासचिवमा दिवाकर पाण्डेले पुण्य रेग्मीलाई हराएका छन् । विजयी पाण्डेले १६ सय ६० मत पाउँदा रेग्मीले १२ सय १ मत पाए । खुला सचिवमा कृष्ण देवकोटा २३ सय ९ मत, डिएन खराल १८ सय ७९ मतसहित निर्वाचित भए भने भूपाल कार्कीले १३ सय ५६ मत पाए ।
आईसीसी सदस्यमा विष्णु खरेल २३ सय २५, तुंगभद्र भुसाल २२ सय ७ र छविलाल अर्याल २ हजार १५ मत ल्याएर विजयी बने । देउमान इजम १८ सय ५३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
इंग्ल्यान्ड राज्य परिषद् अध्यक्षमा राममाया विष्ट थापाले १ हजार ६९ मत पाएर विजयी हुँदा अहिल्या कुँवरले ३ सय ४४ मत पाइन् ।
एनआरएनए यूकेमा ३५ सय १ मतदाता रहेकोमा ३ हजार १२ मत मसेको थियो । यो पटकको मतदान ८६ प्रतिशत रहेको निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिमखडाले जानकारी दिए । निर्वाचन परिणाम घोषणाका क्रममा निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्य, निवर्तमान अध्यक्ष हित काजीगुरुङ, केन्द्रीय प्रतिनिधि, अध्यक्ष पदका प्रत्यासीका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो ।