लन्डन । पुन समाज यूकेको वार्षिक क्याम्पिङ भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
समुदायमा भाइचाराको भावना थप प्रगाढ बनाउने उद्देश्यले १८ देखि २० जुलाई २०२५ सम्म स्टानफोर्ड हल, लेस्टरशायरमा क्याम्पिङ अर्थात् 'गोठ जाने'कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पुन समाज यूकेका उपाध्यक्ष क्याप्टेन (रि) उमेशकुमार पुन एमभीओ, अर्धी पुन समाज यूके/पुन समाज यूकेका सदस्य गिरी पुन, अन्य सक्रिय सदस्यहरू तथा पुन समाज यूकेको केन्द्रीय कार्यसमितिको संयुक्त पहल तथा समन्वयमा आयोजना गरिएको हो ।
कार्यक्रमको मुख्य आकर्षण मौलिक पुन जातको चलनअनुसार "गोठ जाने" पुरानो परम्परागत सांस्कृतिक प्रस्तुति राखिएको थियो । त्यसले सहभागीहरूलाई आफ्नो माटोको याद दिलाएको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै पुस्ताका सहभागी क्याम्पिङ रमाए, माया, सम्झना र गहिरो सांस्कृतिक सम्बन्धले भरिपूर्ण बनेको थियो ।

खेल्दै रमाउने नानीहरूदेखि, ऊर्जावान युवायुवती, मायालु अभिभावकहरूदेखि बुबा, आमा-जिजु बाजे, जिजु बज्यैसम्म सबैले एउटै आकाशमुनि एउटै खुशी बाँडे । विभिन्न सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा परिवारकेन्द्रित गतिविधिहरू, नयाँ पिढीका युवाहरुलाई प्रशिक्षित गराइ समेटिएको पुर्ख्यौली नाचले पुन जातिको भित्र एकता, सहकार्य र सांस्कृतिक गौरवलाई अझ सशक्त रुपमा झल्काएको थियो ।
कार्यक्रमले पुन जातिको सांस्कृतिक सम्पदा, परम्परागत खाना, संगीत, नाचगान, खेलकुद र आपसी भेटघाटको रमाइलो माहोल प्रदान गरेको कार्यक्रम कोअर्डिनेटर समूहले जनाएको छ ।
कार्यक्रम सफलतामा अर्थपूर्ण योगदान पुऱ्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । निक फोदरगिल दम्पतीलाई तीन दिने शिविरका लागि स्थान प्रदान गरेकोमा धन्यवाद दिइएको थियो । साथै, पुन समुदाय र नेपाली संस्कृतिलाई सुन्दर ढंगले चित्रण गर्ने वृत्तचित्र गीतलाई प्रायोजन गरेकोमा अर्धी पुन समाज यूके/पुन समाज यूकेका सक्रिय सदस्य रुक पुन दम्पतीलाई पुन जातिको परम्परागत पहिचान र सांस्कृतिक सम्पदाको गौरवशाली प्रतीक (विशेष कपडा) रातो र सेतो नेजाले समाजका मेजर (रि) गमबहादुर बुदुजा पुन र सल्लाहकार भीमकुमारी पुनले सम्मान गरे ।

महासचिव टकप्रसाद पुनले सहभागीहरूलाई क्याम्पिङ "गोठ जाने” भेटघाट अभियानको उद्देश्य, महत्व तथा यसको दीर्घकालीन प्रभावबारे प्रस्ट्याउँदै यस्ता कार्यक्रमहरू पुन जातिको पहिचान जोगाउन अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, सचिव कृष्ण पुनले 'PROJECT UP अर्थात् "पुनको चिनारी" (Understanding Pun)' भन्ने नारासहित सुरु गरिएको PROJECT UNDERSTANDING PUN (P.U.P) परियोजनाबारे जानकारी गराए । उक्त कार्यक्रमअन्तर्गत पुन जातिका विविध क्षेत्र र पेशामा संलग्न व्यक्तिहरूसँग गहिरो भलाकुसारी गरिने र पुन जातिको विस्तृत परिचय अभिलेखीकरण तथा प्रचारप्रसार गरिने पनि उनले बताए ।
उपाध्यक्ष क्याप्टेन (सेवानिवृत्त) उमेशकुमार पुन एमभीओले कार्यक्रमलाई अर्थपूर्ण र अविस्मरणीय बनाउने सबैको समर्पण, प्रयास र समर्थनका लागि धन्यवाद तथा आभार प्रकट गरे । उनले कार्यक्रमको दौरानमा कुनै पनि असुविधा वा कमीकमजोरीहरूका लागि संस्थाको तर्फबाट माफी पनि मागेका थिए ।

अन्तमा पुन समाज यूकेका अध्यक्ष सेवानिवृत्त मेजर गमबहादुर पुनले यस वर्षको क्याम्पिङ कार्यक्रमको सफलतामा योगदान पुऱ्याउने सबै संयोजक, स्वयंसेवक, कलाकार, अतिथि र सहभागीहरूलाई धन्यवाद दिएका थिए ।
