लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्षका उम्मेदवार राजेन्द्र पुडासैनीले आफ्ना १० वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
लन्डन नर्थ वेम्लीस्थित एक रेस्टुरेन्टमा सोमबार सञ्चारकर्मी तथा आफ्नो टिमका उम्मेदवारहरुबीच उनले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकबद्ध बनाउनेलगायत प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले लिडरसीप क्राइसीसबीच संघलाई रिब्रान्डिङ, वृहत्तर राष्ट्रवाद (एक्सटेन्डेड नेशनलिजम), संस्थागत एकता सुदृढ संगठन, दुःख र आपतकालमा सहारा, युवा तथा दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान र सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, संघसंस्थाहरुसंगको सहकार्य, विज्ञहरुको सञ्जाल निर्माण, पुस्तान्तरण अभियान, दीगो र भरपर्दो एनआरएन, सबै नेपालीको आस्थाको पुञ्ज साझा घर नेपाल हाउस बनाउने जस्ता आफ्ना मुख्य एजेन्डा प्रस्तुत गरे ।
कार्यक्रममा आइसीसी सदस्य उम्मेदवार तुंगभद्र भुषाल, देउमान इजम, उपाध्यक्ष उम्मेदवार शम्भुप्रसाद अर्याल, सचिव उम्मेदवार डिएन (धातानन्द) खराल, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष उम्मेदवार राममाया विष्टले पनि आफ्नो संक्षिप्त परिचय दिँदै मत दिन सबैमा अपिल गरेका थिए ।
कार्यक्रममा एनआरएनए संस्थापक सचिव चिरञ्जिवी ढकाल, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष पशुपति पोखरेल, एनआरएनए अभियन्ता रोहित अग्रवाल, बुद्धिजीवी एकेन्द्र गुरुङ, एनआरएनए यूके सचिव तिलक भट्टराई, प्रमेश शर्मा,एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष कृष्ण भण्डारी, आइसीसी सदस्य सरस्वती केसी, तमुधिं यूके पूर्वअध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, पूर्वआइसीसी सदस्य भीमलाल भट्टराई, एनआरएनए यूके सचिवप्रतिभा न्यौपानेलगायत उपस्थित थिए ।