लन्डन । बेलायत भ्रमणमा रहेकी गायिका पवित्र गुरुङको एकल सांगीतिक साँझ हुने भएको छ । पवित्रको बाल्यकालमा अध्यनस्थल नुवाकोट दुप्चेश्वर गाउँपालिकाको गोल्फुभन्ज्याङ निम्न माध्यमिक विद्यालयको सहयोगार्थ आगामी ३१ अगस्टमा लाइभ ब्यान्डका साथ एकल च्यारिटी नाइट हुन लागेको हो । उक्त एकल साँझ मिचेटस्थित तमुधीं यूकेको भवनमा हुनेछ । कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने छ ।
गोर्खा मिडियाको प्रस्तुति र व्यवस्थापनमा हुने पवित्र गुरुङ एकल साँझको तयारीमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा प्यालेस रेस्टुरेन्टका एमडी तथा एनआरएन यूकेका भूपूअध्यक्ष सुर्य गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु, सहसम्पादक प्रकाश गुरुङलगायत जुटेका छन् ।
आयोजकले गायिका पवित्र गुरुङका लागि बेलायतमा पहिलो पटक आयोजना हुन गइरहेको एकल सांगीतिक च्यारिटी नाइटमा सहभागी हुन बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।
'कालजयी तथा हृदयस्पर्शी गीतहरूको जीवन्त लाइभ ब्यान्डसहितको उत्कृष्ट प्रस्तुति रहने यस अवसरमा सहभागी भई पवित्रको अद्वितीय गायन प्रतिभालाई नजिकबाट अनुभव गर्नुहोस् । यस अवसरलाई सम्झनलायक बनाऔं,' सहसम्पादक प्रकाश गुरुङले भने ।
उक्त कार्यक्रममा डीएमटी ब्यान्डको प्रस्तुति रहनेछ ।
को हुन् पवित्र ?
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की प्रतिभाशाली गायिका हुन् पवित्र गुरुङ । जसलाई धेरैले ‘नुवाकोटे कान्छी’ भनेर चिन्छन् । पछिल्लो समय उनी बेलायतमा लोकप्रिय बन्दै गएकी छन् । उनले सात वर्षदेखि गान्धर्व संगीत विद्यालयमार्फत क्लासिकल संगीतको औपचारिक शिक्षा लिइरहेकी छन् । सन् २०२१ मा पहिलो पटक तमुधीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । यसपटक उनी ग्रेटर रश्मूर नेपाली कम्युनिटी यूकेको निमन्त्रणामा पुनः बेलायत आएकी हुन् ।
शान्त स्वभाव, लजालु अनुहार र सुमधुर स्वरकी धनी पवित्र नेपाली संगीतप्रेमीको मनमा विशेष स्थान बनाउँदै गइरहेकी छन् । यस वर्षको अप्रिलदेखि बेलायतको सांगीतिक अभियानमा निस्किएकी उनले तमुधीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्टलगायत थुप्रै प्रतिष्ठित कार्यक्रममा आफ्नो उपस्थिति जनाइसकेकी छन् । तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा आगामी अगस्ट २४ मा भएको नेपाली मेला प्रस्तुति दिने पक्का छ ।
नेपालबाट बेलायत पुगेका धेरै कलाकारहरूले यति व्यापक रूपमा प्रस्तुति दिने अवसर पाउँदैनन् । पवित्राले तीन–चार सय जनाको उपस्थिति रहने समाजिक कार्यक्रमहरूमै करिब तीन दर्जनभन्दा बढी प्रस्तुति दिइसकेकी छन् ।
हिट गीतको शृङ्खला
‘लैँ सारा मूनसम्म’, ‘मारै ट झलल’ र ‘रोधी घर (कौडा)’ले युट्युबमा मिलियनभन्दा बढी भ्युज पाइसकेका छन् । ‘दिलसुबा’, ‘संगै जुनी काटौंला’, ‘च्याङबा’जस्ता पनि चर्चित छन् । यी गीतहरूले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा कमाएका छन् ।
‘द भ्वाइस अफ नेपाल’ मा सिने गुरुङको ‘मन किन रुन्छ यो मन’ गाएर सबैको ध्यान खिच्न सफल भएकी पवित्रले छोटो समयमै नेपाली संगीतप्रेमीहरूको मन जित्न सकिन्। धेरैले उनीमा अझै असीम सम्भावना रहेको ठान्छन् । पवित्र गुरुङ आफ्नो सफल सांगीतिक यात्राको श्रेय गुरु चन्दनकुमार श्रेष्ठ, दिदी गरिमा गुरुङ, परिवारका प्रिय सदस्यहरू र सबै शुभचिन्तकहरूलाई दिन चाहन्छन् ।
सम्बन्धित समाचार लिंक