लन्डन । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की प्रतिभाशाली गायिका पवित्र गुरुङ । जसलाई धेरैले ‘नुवाकोटे कान्छी’ भनेर चिन्छन् । पछिल्लो समय उनी बेलायतमा लोकप्रिय बन्दै गएकी छन् । चर्चा चुलिँदो छ ।
उनले सात वर्षदेखि गान्धर्व संगीत विद्यालयमार्फत क्लासिकल संगीतको औपचारिक शिक्षा लिइरहेकी छन् । सन् २०२१ मा पहिलो पटक तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । यसपटक उनी ग्रेटर रश्मूर नेपाली कम्युनिटी यूकेको निमन्त्रणामा पुनः बेलायत आएकी हुन् ।
शान्त स्वभाव, लजालु अनुहार र गहकिलो स्वरकी धनी पवित्र नेपाली संगीतप्रेमीको मनमा विशेष स्थान बनाउँदै गइरहेकी छन् । यस वर्षको अप्रिलदेखि बेलायतको सांगीतिक अभियानमा निस्किएकी उनले तमु धीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्टलगायत थुप्रै प्रतिष्ठित कार्यक्रममा आफ्नो उपस्थिति जनाइसकेकी छन् । यति मात्र होइन, तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा आगामी अगस्ट २४ मा हुने नेपाली मेलामा समेत उनको प्रस्तुति निश्चित भइसकेको छ ।
नेपालबाट वेलायत पुगेका धेरै कलाकारहरूले यति व्यापक रूपमा प्रस्तुति दिने अवसर पाउँदैनन् । पवित्राले तीन–चार सय जनाको उपस्थिति रहने समाजिक कार्यक्रमहरूमै करिब तीन दर्जन भन्दा बढी प्रस्तुति दिइसकेकी छन् ।
हिट गीतको शृङ्खला
‘लैँ सारा मूनसम्म’, ‘मारै ट झलल’ र ‘रोधी घर (कौडा)’ले युट्युबमा मिलियनभन्दा बढी भ्युज पाइसकेका छन् । ‘दिलसुबा’, ‘संगै जुनी काटौंला’, ‘च्याङबा’जस्ता पनि चर्चित छन् । यी गीतहरूले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा कमाएका छन् ।
‘द भ्वाइस अफ नेपाल’ मा सिने गुरुङको ‘मन किन रुन्छ यो मन’ गाएर सबैको ध्यान खिच्न सफल भएकी पवित्रले छोटो समयमै नेपाली संगीतप्रेमीहरूको मन जित्न सकिन्। धेरैले उनीमा अझै असीम सम्भावना रहेको ठान्छन् ।
बेलायतमा ‘स्वर सम्राट’को गीत गाएर मञ्च हल्लाइन्
हालै साहारा यूकेद्वारा अल्डरसटमा आयोजित एक रात्री भोजमा पवित्रले स्वर सम्राट नारायण गोपालको कालजयी गीत ‘केही मिठो बात गर’ प्रस्तुत गरेपछि उपस्थित सबै नेपाली दर्शक भावविभोर भए । संगीतप्रेमीहरूका अनुसार यो गीत नेपाली आधुनिक संगीतको अमूल्य धरोहर हो, र स्टेजमा प्रस्तुत गर्नु साह्रै चूनौतीपूर्ण ।
स्वरको फराकिलो दायरा, मन्द स्वरबाट उच्च स्वरमा सहज रुपान्तरण, स्वरहरूबीचको सुल्झिएको स्लाइड, सटिक मूर्की र गमक, स्वर नियन्त्रण र उत्कृष्ट श्वास व्यवस्थापन जस्ता कठिन पक्षहरू सम्हाल्दै पवित्रले यो गीतलाई गहिरो आत्माबाट गाएर सबैलाई प्रभावित पारिन् ।
यस गीतमार्फत उनले प्रमाणित गरिन् कि उनी केवल गुरुङ गीतकी मात्रै गायिका होइनन्, बहुआयामिक गायन क्षमताकी धनी कलाकार हुन् ।
एकल साँझको माग
हाल बेलायतको नेपाली समुदायमा ‘पवित्र एकल साँझ - लन्डन’ को माग तीव्र रूपमा बढिरहेको छ । धेरै दर्शकले उनलाई नेपाल फर्कनु अगावै यूकेको कुनै प्रतिष्ठित हलमा एकल सांगीतिक कार्यक्रम गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
उनको बेलायत भ्रमण र निरन्तर प्रस्तुतिले नेपाली सांगीतिक क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय नेपाली समुदायमा पनि उनको उचाइ बढ्दै गएको छ ।
संगीत यात्राको श्रेय उनी आफ्नी दिदी गरिमा गुरुङलाई दिन्छिन् — जसको साथ, सहयोग र प्रेरणाले उनलाई यहाँसम्म ल्याएको हो ।