लन्डन । ताङतिङ समाज यूकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । बर्कसायर स्थित ब्र्याकनेलको विन्कफिल्ड पेरिस काउन्सिलको हलमा १९ जुलाईका दिन कार्यक्रम भएको हो ।
समाजका वयोवृद्ध सदस्य मेजर बालासिंह गुरुङ एमभीओ तथा अध्यक्ष तर्कजङ गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । उपाध्यक्ष जगदीश गुरुङले उपस्थित सबैलाई समाजको तर्फबाट औपचारिक रूपमा स्वागत गरेका थिए ।
नेपालबाट यूके घुम्न आएका गाउँलेलाई भव्य स्वागत गरिएको थियो । कास्कीको मादी गाउँपालिका- २ का संस्थापक वडाध्यक्ष एकाजङ गुरुङ दम्पती तथा ताङतिङ दुधपोखरी समाज पोखराको उपाध्यक्ष सुबेदार मन्त्रीजङ गुरुङ दम्पतीसहित अन्य अतिथिलाई स्वागत गरिएको हो ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङलाई फेटा तथा खादा ओढाएर बधाई तथा शुभकामना दिइएको थियो । नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष गर्ज बहादुर गुरुङलाई पनि समाजको तर्फबाट बधाई तथा शुभकामना दिएको थियो । अध्यक्ष गर्ज बहादुर गुरुङले ताङतिङ राजनीतिक हिसाबले अत्यन्तै सचेत भएको गुरुङ गाउँ भएको बताए ।
गाउँका अग्रजद्वय भुपुराष्ट्रिय पञ्चायत सदस्य स्वर्गीय नन्द जङ गुरुङ तथा नेपाल भूतपूर्व सैनिक संघको भुपु अध्यक्ष स्वर्गीय मेजर दीपक गुरुङलाई सम्झिँदै श्रद्धासुमन व्यक्त गरेका थिए । तमु कल्चरल फोरम यूकेका डाइरेक्टर क्याप्टेन राजु गुरुङले तमु संस्कार संस्कृतिको महत्वबारे प्रकाश पार्दै त्रिभाषिय किताब प्रकाशन गर्न लागेको बताए ।
किताब प्रकाशनको लागि सहयोग गरेकामा ताङतिङ समाज यूकेलाई धन्यवादसमेत दिए । कार्यक्रममा कास्की मादी गाउँपालिका-२ का संस्थापक वडाध्यक्ष एकाजङ गुरुङले आफ्नो कार्यकालमा र अन्य आवश्यक परेको बेलामा ताङतिङ समाज युकेको निरन्तर सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए ।

विगतमा जस्तै चेलीबेटी र अतिथिलाई स्वागत तथा सम्मान गर्दै समाजले २०२४–२०२५ सालमा पदोन्नति, ग्रडयुएट गरेका, नयाँ सन्तान प्राप्त गरेका, नयाँ घर किनेका सदस्यहरूको खुसीयाली मनाउँदै बधाई तथा शुभकामना दिए । समाजको म्याराथन धावक सदस्यद्वय आसबहादुर गुरुङले अन्नपूर्ण म्याराथन दौडिएकामा र कुश बहादुर गुरुङले पोखरा म्याराथन दौडिएकामा बधाई दिएका थिए ।
ताङतिङकै कलाकारद्वय सबिना गुरुङ तथा एलिना गुरुङले चर्चित गुरुङ तथा नेपाली गीत गाएर मनोरन्जन गराएका थिए । सानी नानी यास्भी गुरुङ, सबिना गुरुङ, विष्णु गुरुङ द्वय, पदम गुरुङ नेपालबाट आएका चर्चित कलाकार मन्त्री जङ गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चिट्ठा पनि गरिएको थियो र सदस्यहरूले पुरस्कार सहयोग स्वरूप प्रायोजन गरेका थिए ।
अन्त्यमा अध्यक्ष तर्क जङ गुरुङले समाजको वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम भव्य र सभ्य बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्ने कार्य समिति, सल्लाहकार, प्रायोजक, चेलीबेटी र सदस्यलाई धन्यवाद दिए । समाजका महासचिव टौ गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने मनु गुरुङ र हितमान गुरुङले फोटोग्राफी तथा भिडीयोग्राफी गरेका थिए ।

संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईको परिकल्पनामा उनले नै बनाएको ताङतिङको स्थानीय ठाउँ चिनाउने वा स्थानीय ठाउँको नाम टेबल टेबलमा राखेर उपस्थित सबैलाई जानकारी गराइएको थियो ।