लन्डन । बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरूको संस्था धादिङ नुवाकोट समाज यूकेको वार्षिक समर भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार हन्स्लोस्थित क्रान्सफोर्ड कम्युनिटी कलेजमा सम्पन्न भेटघाटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथि रहेका थिए । समाजका अध्यक्ष धनबहादुर तामाङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि लामा र अध्यक्षले संयुक्त रूपमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य राखे भने उपाध्यक्ष गोल बहादुर तामाङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराए ।
विशेष अतिथि स्वर्ण पदक विजेता राष्ट्रिय कङफु खेलाडी सरिना घले, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, रि. मेजर विष्णु घले रहेका थिए ।
नेपाल र बेलायतको राष्ट्रिय गानबाट सुरु गरिएको थियो । महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक सचिव कृष्ण पाख्रिनले राष्ट्रिय भावको गीत गाएका थिए ।
प्रमुख अतिथि लामाले बेलायतमा रहेका धादिङ र नुवाकोटवासीहरूलाई एकताबद्ध गरेको भन्दै समाजलाई बधाई तथा शुभकामना दिए । नेवार र तामाङ जातीको बाहुल्य रहेको बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० मा समेटिएको पनि जनाए ।

अध्यक्ष पाख्रिनले मुख्यमन्त्री लामालाई मायाको चिनोसमेत प्रदान गरेका थिए । अध्यक्षले मुख्यमन्त्री लामाको उपस्थितिले सबैलाई गौरव तुल्याएको बताए । उनले उपस्थित सबैप्रति धन्यवाद तथा आभार प्रकट गरे । खेलाडी घलेसहित विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।
राष्ट्रिय कलाकारहरू देवी घर्ती, पवित्रा गुरुङ र लक्ष्मी खड्का, यूकेका कुमार योन्जनसहित स्थानीय कलाकार तथा फुटबल प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपालबाट आएका राष्ट्रिय कलाकार लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्काको सांगीतिक प्रस्तुतिमा सबै जना झुमेका थिए ।

त्यसअघि समाजले डीएनएस फुटबल कप २०२५ आयोजना गरेको थियो । ६ टिम सहभागी प्रतियोगिताको उपाधि तामाङ समाज यूकेले जितेको थियो । नेप्लिज ब्रर्दस दोस्रो र बीजीएफसी तेस्रो भए । विजेताले ३०० पाउन्डसहित मेडल र प्रमाणपत्र तथा दोस्रोले २०० पाउन्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।