लन्डन । अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर यूकेले आगामी सेप्टेम्बर ६ तारिखमा च्यारिटी डिनर नाइट गर्ने भएको छ । कार्यक्रम साँझ ५:३० बजेदेखि राति १०:३० बजेसम्म अल्डरसटको प्रतिष्ठित प्रिन्सेस हलमा हुनेछ।
मन्दिरको छेउमा खरिद गरिएको छिमेकी घरको बैंक ऋण घटाउने र दैनिक धार्मिक तथा सामुदायिक गतिविधि थप व्यवस्थित गर्दै दीगो सञ्चालन गर्न आवश्यक कोष जुटाउने उद्देश्यले च्यारिटी कार्यक्रम आयोजना गरिएको शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराईले जानकारी दिए । सोही अवसरमा चर्चित गीत 'भुलु भुलु लाग्यो मलाई'का गीतकार-संगीतकार विक्रम गुरुङले प्रस्तुति दिनेछन् । साथै, 'तिम्रो हाम्रो मनको दूरी…' गीतका गायक तथा 'बादलुको घुम्टोले…' जस्ता अमर संगीत दिएका दिनेश सुब्बा पनि प्रमुख आकर्षणका रूपमा सहभागी हुनेछन् ।
'छेक्यो छेक्यो देउराली डाँडा…' र 'आँखैमा झलझली…' जस्ता लोकप्रिय गीतका गायक रविन श्रेष्ठको उपस्थिति पनि कार्यक्रमलाई थप रौनक दिने अपेक्षा गरिएको छ ।
बेलायतका कलाकारहरू सनिता थेबे, सन्तोष गुरुङ, सुनिता हिराचन र क्याप्टेन वीरबहादुर थापा लगायतका स्थानीय सांगीतिक समूहहरूले दमदार प्रस्तुति दिनेछन् । साथै, नेपालबाट आएकी ख्यातिप्राप्त नृत्य कलाकार आरुषी मगर पनि उपस्थित हुने अध्यक्ष भट्टराईले जनाए ।
कार्यक्रमको पहिलो चरणमा स्थानीय मेयर, नेपाली राजदूत तथा सांसद अलेक्स बेकरको विशेष आतिथ्यमा शिव मन्दिरको पहिलो स्मारिका 'शिव दर्शन २०२५'को विमोचन गरिनेछ। कार्यक्रममा स्वादिष्ट साकाहारी भोजनको व्यवस्था गरिएको छ, जुन विभिन्न स्वयंसेवक तथा दाताहरूको प्रायोजनमा उपलब्ध हुनेछ । साथै, राफल ड्र मार्फत रमाइला पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महासचिव सुष्मा गुरुङका अनुसार, कार्यक्रममा कम्तीमा ५०० दर्शक सहभागी हुने अपेक्षा गरिएको छ र ५० हजार पाउन्डभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।
टिकटका लागि पहिले नै टाढाटाढाबाट इन्क्वायरी सुरु भइसकेको हुँदा इच्छुक महानुभावहरूलाई चाँडै सीट सुरक्षित गर्न आयोजकहरूले आग्रह गरेका छन् । टिकट शुल्क ५० पाउन्ड तोकिएको छ ।