लन्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला आगामी ३ अगस्ट शनिबारका दिन हुने भएको छ । कार्यक्रम लन्डनको फेल्थमस्थित ट्युडर पार्क स्पोर्ट्स एन्ड लेजरमा बिहान ११ बजेदेखि हुनेछ ।
भेलामा नेपालबाट आएका चर्चित कलाकारहरूले दर्शकलाई नचाउनेछन् । कलाकारहरू रेणुका भट्टराई घिमिरे, सृष्टि पुन, सिता परियार र अर्जुन कुँवरको विशेष सांगीतिक प्रस्तुति रहने निश्चित भएको हो ।
समाजको स्थापनाकालदेखि नै प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको वार्षिक भेला प्रवासी नेपाली समुदायबीचको एकता, समृद्धि र सांस्कृतिक संवर्द्धनको प्रतीकका रूपमा रहँदै आएको छ ।
विशेष आकर्षणका रूपमा नौमती बाजा, सोरठी, सराय, लाखे, घाटु, तीजगीत, भजन, झ्याउरे, ठाडो भाका, सालैजोलगायत प्रस्तुतिले सांस्कृतिक रौनक दिनेछ ।
भेलामा लन्डन, मिडल्यान्ड, स्कटल्यान्डलगायत विभिन्न क्षेत्रबाट सहभागीहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।
प्रवेश शुल्क २० पाउन्ड, १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउन्ड र ५ वर्षमुनिका लागि निःशुल्क व्यवस्था गरिएको छ । बेलायमा रहेका गुल्मेली तथा अन्य नेपालीलाई भेलामा सहभागी भई सफल बनाउन समाजले आग्रह गरेको छ ।