लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रेम गाहामगर नेतृत्वले आउँदो जुलाई २६–२७ मा हुने भनिएको हितकाजी गुरुङ समूहको अधिवेशनलाई अवैध र समाज विखण्डन गर्ने प्रयास भन्दै अस्वीकार गरेको छ।
बुधबार १६ जुलाई २०२५ मा अल्डरसटस्थित पत्रकार सम्मेलनमा अध्यक्ष गाहामगरले सर्वोच्च अदालतको परमादेशअनुसार डा. शेष घले नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले काठमाडौंमा सम्पन्न "एकता महाधिवेशन"मार्फत आफूहरूलाई वैधानिक नेतृत्व दिएको दाबी गरे ।
गाहामगर समूहले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको समर्थन पनि आफूहरूलाई रहेको उल्लेख गर्दै अर्को समूहले भ्रम सिर्जना गरी समाजलाई फुटाउन खोजेको आरोप लगाएको छ ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, कलाकार तथा समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकार डा. भीम पुन, राजकुमार त्रिपाठी (आरके), पूर्वअध्यक्ष योगेन क्षेत्री, प्रवक्ता डा. कुलप्रसाद कँडेल, आइसीसी सदस्यहरु शारदा गुरुङ, ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन, गोमा राना, हितमान गुरुङ,टंक गुरुङ,मनिष खालिङ, अजयसिंह ठकुरी, पहिलो नेपाली तारा दिपक लिम्बु,नायिका रेखा लिम्बुलगायतको उपस्थिति थियो
अध्यक्ष गाहामगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन भएको थियो ।