लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ यूके राष्ट्रिय समन्वय परिषद् बेलायत (एनआरएनए यूके)को अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।
आइतबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारीको उम्मेदवारी परेको गैरआवासीय नेपाली संघ यूके निर्वाचन समिति २०२५-२०२७ का प्रमुख आयुक्त रामशरण सिम्खडाले जानकारी दिए । बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको थियो ।
उपाध्यक्ष खुलातर्फ २ पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशी महिला उपाध्यक्ष, कोषाध्यक्ष,सहकोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक पदमा १/१ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महासचिवमा २ जना, दुई सचिवका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सचिवमा १ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको छ ।
यस्तै स्कटल्यान्डबाट एनसीसी यूकेमा प्रतिनिधित्व गर्ने १ उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । तर वेल्स र नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षहरु भने निर्विरोध भएका छन् ।
आईसीसी सदस्यको ३ जना कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । एनआरएनए यूकेको १२ कार्यकारी सदस्यमा १४ जनाको मनोनयन दर्ता भएको छ ।
प्रमुख आयुक्त सिम्खडाका अनुसार स्कटल्यान्ड र वेल्स राज्य समन्वय परिषद् सिंगो कमिटी निर्विरोध भइसकेका छन् । आयरल्यान्डमा अध्यक्षको मात्रै मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी जाँचबुझपछि सवमबार दिउँसो ३ बजे प्रथम नामावली प्रकाशन गर्ने र त्यसपछि २४ घण्टा दाबी/विरोधको समय दिने निर्वाचन समितिले जनाएको छ ।
एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइनमार्फत मतदान हुनेछ । एनआरएनए यूकेको नयाँ नेतृत्व चयनका लागि सिम्खडा नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्य सचिव श्याम लुइँटेल र सदस्य राजन खकुराल रहेका छन् ।