भोर्लेटार कर्पुटार हुँदै जाने गिलुङ पसगाउँ
कही छैन संसार धरोधर्म यस्तो सुन्दर ठाउँ
बग्छ मिदिम सलल
हेर्दै हिमाल झलल
काफल र गुयेली खाँदै भञ्ज्याङ देउरालीमा
गामबेंसी मेलापात गर्दै उकाली ओरालीमा
भालेको डाक सँगै ढिकी, जाँतो पानी पँधेरीमा
सुख दुखको गीतहरु गाउँछ डाँडा चौतारीमा
संस्कार संस्कृतिको मन्दिर हो पबित्र रोधींघर
पाठशाला हो ज्ञान र सिप सिक्ने जीवनभर
घाटु, सोरठी, भजन, चुट्का संस्कृतिको सुन्दर पाटो
देवी देउता स्युमे भुमेझैं लाग्छ यहाँको ढुङ्गा माटो
खोलानाला पाखापखेरा सुन्दर तरेलीहरु
लालीगुँरास सुनाखरी मनमोहक परेलीहरु
ईन्द्रेणीको रंग झैं रंगिन्छ यहाँ मायाको कथाहरु
दुख पनि सुखझैं लाग्छ यहाँ संघर्षको गाथाहरु ।
