लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)को उपाध्यक्ष पदका लागि महिला उद्यमी डा. रक्षा थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।
साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा बिहीबार १० जुलाई २०२५ मा एक कार्यक्रम आयोजना गरी डा.थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनले आफ्नो उम्मेदवारी कुनै राजनीतिक प्यानलबाट नभइ स्वतन्त्र रहेको पनि प्रष्ट्याइन् । मकवानपुर हेटौंडाबाट बेलायत आएकी उनी माया सर्पोटेड लिभिङकी निर्देशक हुन् ।
डा.थापाले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै संस्थागत संरचना सुदृढीकरण र एकता प्रवर्धन, युवा सशक्तिकरण र नेतृत्व विकास, नेपाली संघसंस्थाबीचको एकता र सहकार्य सुदृढ गर्दै एनआरएन अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफूले लामो समयदेखि सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफ्नो सम्पूर्ण कार्यकाल नेपाली समुदायको हित, सम्मान र समृद्धिमा समर्पित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरिन् ।
उनले गोर्खाहरुका माग पूरा गर्न बेलायत र नेपाल सरकार एवं सम्बन्धित निकायहरुसँग समन्वय गर्ने, नेपाली नागरिकता निरन्तरताका लागि आवश्यक नीतिगत पहल गर्ने, महिलाको सामाजिक, सांस्कृतिक र व्यवसायिक सशक्तिकरणमा केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने, बेलायतस्थित नेपाली समुदायको हित संरक्षण, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, दिगो परोपकार र विकास अभियान, संस्थागत पारदर्शीता र जवाफदेहीता, नेपाल बेलायत सम्बन्ध सुदृढीकरण आदि पनि आफ्नो प्रतिबद्धतामा समावेश गरेकी छन् ।
घोषणासभामा विभिन्न संघसंस्थाका अगुवाहरुले अग्रीम शुभकामना दिएका थिए । घोषणासभामा विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, पत्रकारलगायतको उपस्थिति थियो ।
एनआरएनए यूकेको १२औं महाधिवेशनअन्तर्गत यही जुलाई २६ मा अनलाइनमार्फत मतदान हुँदैछ ।