फार्नबोरो । बाग्लुङे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स क्लबमा ५ जुलाई २०२५ मा आयोजित कार्यक्रममा बेलायतभरिबाट बाग्लुङे समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन ८७ वर्षीय ज्येष्ठ नागरिक तुलबहादुर श्रीस, समाजका अध्यक्ष खड्क थापा र पूर्वअध्यक्ष छविमाया पुनले मैनबत्ती बालेर संयुक्त रूपमा गरेका थिए ।

स्वागत मन्तव्य उपाध्यक्ष गुमानसिंह थापाले दिएको थिए भने महासचिव जित पुनले स्वास्थ्य सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
विशेष अतिथि रुपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै बेलायत आएको समयमा बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाटमा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको बताए । कार्यक्रममा उपस्थित हुँदा बाग्लुङ्गै गएको महसुस गराएको भन्दै अध्यक्ष ढकालले समाजका अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए ।

कार्यक्रममा पुनमगर समाज यूकेका पूर्वअध्यक्ष तेज राम्जाली, मोना यूकेका उपाध्यक्ष विष्णु भण्डारी, गुल्मी समाज यूकेका अध्यक्ष रुद्र थापामगर, लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका अध्यक्ष लक्ष्मण रानामगरलगायतको उपस्थिति रहेको थियो।
ज्येष्ठ नागरिक जमानसिङ थापालाई ८४ वर्ष पार गरेको उपलक्ष्यमा समाजले विशेष सम्मान प्रदान गर्यो । साथै, मास्टर्स, पीएचडी तथा ग्र्याजुएसन पूरा गर्ने विद्यार्थीहरू, विभिन्न संघ-संस्थामा नयाँ पदमा नियुक्त भएकाहरू र ब्रिटिस सेनामा पदोन्नति प्राप्त गर्ने सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको सांगीतिक पक्षलाई विशेष बनाउने क्रममा चर्चित भर्सटायल गायक युवराज मगर, गायिका नितु पुन मगर र लोकदोहोरी गायिका सिता परियारले भरपूर मनोरञ्जन दिएका थिए।

त्यस्तै, अतिथि कलाकारका रूपमा अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देवी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल र स्रिष्टी मगरले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
बाग्लुङ भलिबल टिम र नौमती बाजा, राफल ड्र, स्थानीय कलाकारको नृत्य लगायतले कार्यक्रमलाई थप आकर्षण बनाए । सांस्कृतिक सचिव लक्ष्मण रानाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
अध्यक्ष खड्क थापाले कार्यक्रमलाई सफल पार्नका लागि उपस्थित प्रमुख अतिथि, अतिथिहरु, कलाकार, बाग्लुङसहित बेलायतवासी नेपालीहरुलाई तथा कार्यक्रम तयारीमा अहोरात्र खटिने समाजका टिमलाई धन्यवाद तथा आभार दिँदै कार्यक्रम समापन गरेका थिए ।











