लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का निवर्तमान अध्यक्ष पुण्य रेग्मीले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए अभियानमा लामो समयदेखि योगदान दिँदै आएका रेग्मीले आगामी कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । हालसम्मको अनुभव, पारदर्शिता र युवा सहभागितालाई प्राथमिकतामा राख्दै महासचिवमा उम्मेदवारी दिन लागेको उनले बताए ।
विभिन्न अग्रज, आफन्त तथा शुभेच्छुकहरूसँगको परामर्शपछि चाँडै उम्मेदवारीबारे औपचारिक घोषणा गर्ने उनको तयारी छ । रेग्मीको नेतृत्वमा आरजीएनएसले नेपाली समुदायबीच एकता, सामाजिक र सांस्कृतिक उत्थानमा उल्लेखनीय काम गरेको छ ।
रेग्मीले लन्डन क्षेत्रका नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा विभिन्न पहलमार्फत सशक्त उपस्थिति जनाउँदै आएका छन् । उनी पेसाले इन्जिनियर हुन् ।
यसअघि प्रवासी नेपाली मञ्च यूकेको सचिव, यति नेपाली एसोसिएसन यूकेको कोषाध्यक्ष, सोसाइटी अफ नेपाली प्रोफेसनल्स यूकेको अध्यक्ष भइसकेका छन् । अन्य विभिन्न संस्थामा पनि सक्रिय रूपमा संलग्न रहेर अनुभव लिइसकेका छन् ।
उनले उम्मेदवारी दिने भएसँगै एनआरएनए यूकेको आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक हुने चर्चा हुन थालेको छ । आनआरएनए यूकेको निर्वाचन आगामी २६ जुलाईमा हुँदैछ ।