लन्डन । बोर्न्ट ओक नेपाली समाजको आयोजनामा समर भेटघाट तथा र वाट्लिङ कम्युनिटी सेन्टरको सहकार्यमा ओपन डे भव्य रूपमा सम्पन्न भएको छ । वाट्लिङ कम्युनिटी सेन्टर परिसरमा आयोजित कार्यक्रमको सुरुआत नौमती बाजा र पञ्चकन्याको स्वागत समारोहबाट गरिएको थियो ।
समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बार्नेट बरोका डेपुटी मेयर एडिथ डेविड रहेकी थिइन् । कार्यक्रममा फ्लिन्ट डेभिड, एमपी डेभिड पिन्टो, डीएल मार्टिन रसल एमबीई, काउन्सिलर लक्ष्य गुरुङ, कमल गुरुङ, सारा कनवे, शार्लोट डाउस र आन्द्रेयास लोइयान्निदिस लगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि, अध्यक्ष र वाट्लिङ कम्युनिटी सेन्टरका अध्यक्ष हसु हसमुखले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उपस्थित सबैलाई स्वागत मन्तव्य राख्दै अध्यक्षले आफूहरूले विविध समुदायसँग समन्वय गर्दै आपसी सहयोगमा सामाजिक कार्यलाई अगाडि बढाएको उल्लेख गरे । प्रमुख अतिथि तथा अतिथिहरूले समाजले कम्युनिटीमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बालबालिकादेखि विभिन्न समुदायका सदस्यहरूले गीत, नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए । रेशम फिरिरिको धुनमा मादल र सारंगी बजाउँदै बालबालिकाको प्रस्तुति विशेष आकर्षण बन्यो । संगीतकार केरजङ गुरुङले यसका प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक सुधीर गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको दोस्रो भाग बीबीक्यू तथा भेटघाटका रूपमा आयोजना गरिएको थियो । राफल ड्र र गायिका पवित्र गुरुङको प्रस्तुति प्रमुख आकर्षण बने । गायिका गुरुङले आफ्ना गीतमार्फत सहभागीलाई नचाइन् ।
-1751296601.jpg)
राफल ड्र कार्यक्रमको सञ्चालन महासचिव हेलिशा गुरुङले गरेकी थिइन् । उच्च शिक्षा हासिल गरेका सदस्यलाई बधाई तथा शुभकामना दिइएको थियो । संस्थापक अध्यक्ष उदय गुरुङलाई मायाको चिनो प्रदान गरियो । कार्यक्रममा डीजेको भूमिका दिनेश गुरुङले निर्वाह गरेका थिए ।
अन्त्यमा अध्यक्षले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद समापन भएको घोषणा गरे ।