लन्डन । तमुधीं यूकेले हरेक वर्ष गर्दै आएको नेपाली मेलाको १६ औं संस्करण आगामी २४ अगस्टमा हुने भएको छ ।
आइतबार २४ अगस्टमा केम्पर्टन पार्क रेसकोर्समा नेपाली मेला यूके २०२५ हुने तमुधी यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । यो मेलामा नेपाली दूतावास लन्डनले हरेक वर्ष सहकार्य गर्दै आएको छ ।
मेला बिहान १० देखि राति ८ बजेसम्म हुनेछ । मेलाका लागि 'हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव' नारा तय गरिएको छ । मेलामा नेपालका पूर्व पश्चिममा रहेका विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँस्की प्रस्तुति,प्रतिस्पर्धा, नेपालबाट आउने/आएका र बेलायतमा रहेका कलाकारहरुबाट सांगीतिक प्रस्तुति रहने छन् । त्यस्तै मेलामा नौमती बाजा घन्किने गरेको छ ।
मेलाको तयारी तमुधीं यूकेले सुरु गरिसकेको छ । केही साताअघि २३ औं गोर्खा कपको समीक्षा र नेपाली मेला तयारी बैठक समेत बसेको थियो । उक्त बैठकमा उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाबारे पावर प्वइन्टमा जानकारी गराएका थिए ।
मेलाको प्रमुख आकर्षणको रुपमा एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक झाँकी प्रतिस्पर्धा, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम रहने गर्थ्यो । गत वर्ष एम्बास्डर कपमा विजेता पासा पुच गुठी, उपविजेता किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्न सफल भएको थियो ।
यस्तै उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड, दोस्रो किरात याक्थुङ चुम्लुङ युकेले ३०० पाउन्ड र किरात राई यायोक्खा यूके तेस्रो स्थान ओगट्दै २०० पाउन्ड पुरस्कार प्राप्त गरेको थियो ।
त्यस्तै नेपाली मेलाको नृत्यतर्फ किरात याक्थुङ चुम्लुङ युकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड पुरस्कार प्राप्त गरेको थियो ।