लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले थालेको सदस्यता अभियानको म्याद आज बुधबार सकिँदै छ ।
एनआरएनए निर्वाचन समितिले एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राति ११:५९ सम्म रहेको जनाएको हो । समितिले आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरी सदस्यता बन्न सकिने जनाएको छ ।
यो समाचार तयार पार्दासम्म २५ सयभन्दा बढीले सदस्यता लिएको एनआरएनए यूकेले जनाएको छ । नवीकरणका लागि अत्यावश्यकबाहेक कागजात पुनः दिइरहनु पर्ने झन्झट यसपटक नरहेको समितिको भनाइ छ । स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखेपञ्चात् सदस्यता तत्कालै स्वीकृत हुने पनि समितिले जनाएको छ ।
संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।
एनआरएनए यूकेले सदस्यता लिन अब केवल केही घण्टा मात्र बाँकी रहेको जनाउँदै सबै मिलेर यो साझा अभियानलाई सफल बनाउन अपिल गरेको छ । यो साझा पहिचान, जिम्मेवारी र भविष्यप्रतिको विश्वासको प्रतिबिम्ब भएको भन्दै एनआरएनए यट्ठकेले आज रातिसम्म सदस्य संख्या अझ तीव्र गतिमा बढ्नेमा आशावादी रहेको जनाएको छ ।
सम्पूर्ण कार्यसमिति, दिनरात खटिएका सदस्यता संयोजकहरु समर्पित अभियन्ताहरूको तर्फबाट सबैप्रति आभार प्रकट गरिएको छ ।
सदस्यता अभियान संयोजकमा उपाध्यक्ष मनीष खत्री छन् ।