लन्डन । तमुधीं लन्डन इकाईले शनिबार १४ जून २०२५ मा आयोजना गरेको एकदिने सामूहिक भ्रमण ‘सेभेन सिस्टर्स’ भव्यरूपमा सम्पन्न भएको छ । बेलायतको प्रसिद्ध पर्यटकीय स्थलमा भएको यस भ्रमणमा तमुधींका दर्जनौं सदस्य, सहयोगी र शुभचिन्तकहरूले भाग लिएका थिए ।
तमुधीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङ र आमा समूह अध्यक्ष देवकला गुरुङले सदस्यहरूबीच आत्मीयता, सद्भाव र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यसहित सामूहिक भ्रमण गराएको बताए । उनीहरुका अनुसार कार्यक्रममा सहभागीहरूले रमणीय प्राकृतिक सौन्दर्यको आनन्द लिँदै एकअर्काबीच भलाकुसारी गर्ने अवसर पाए ।
यस अवसरमा नेपालबाट आएकी प्रसिद्ध लोकदोहोरी गायिका सविना गुरुङले आफ्नो मनमोहक प्रस्तुति दिएर कार्यक्रमलाई थप मनोरन्जनमय बनाइन् । साथै, उपस्थित आमाहरूले हाँस्य व्यंग्य प्रस्तुतिमार्फत सबैलाई रमाइलोमा डुबाए ।
तमुधीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङले कार्यक्रम उत्साहमय बनेको भन्दै सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गरे । उनले भने, 'यस भ्रमणले हामीलाई व्यस्त जीवनबाट अलि टाढा भएर प्राकृतिक सुन्दरताको आनन्द लिने मौका मात्र दिएन, साथै हाम्रो समुदायभित्रको मित्रता र सहकार्यलाई अझ बलियो बनाएको छ ।'
भ्रमणको दिन बिहान ८ बजे साउथ ह्यारो ट्यूव स्टेसनबाट बसले यात्रा सुरु गरी बेलुकी ५ बजेपछि पुनः लन्डन फर्किएको थियो। ४८ सिटर कोचमा सवार सबै सिटहरू अग्रिम बुक भइसकेका थिए भने, सीमित सिटका कारण केही सदस्यहरूले आ-आफ्नै सवारी साधनबाट गन्तव्यमा पुगेर सहभागिता जनाएका थिए ।
