लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ)'प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड'बाट सम्मानित भएका छन् ।
फानबोरोस्थित भिलेज होटलमा १३ जून २०२५ मा आयोजित समारोहमा प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले पूर्वगोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेका हुन् ।
कला र संस्कृतिका साथै फोटो, भिडियो र समाचार सम्प्रेषण गर्दै मिडियामार्फत समाजमा पुर्याएको योगदानको मूल्यांकन गर्दै तमुलाई अवार्ड प्रदान गरिएको रश्मूरले जनाएको छ ।
अवार्ड ग्रहणपछि पत्रकार तमुले यसरी नेपालीहरु पनि प्राइड अफ रश्मूर कम्युनिटी अवार्डमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी र गौरव लागेको प्रतिक्रिया दिए । उनले भने, 'सरप्राइज्ड र प्राउड फिल भयो ।'
उनले आफ्नो कामलाई कदर गर्ने निर्णायक अनि अवार्ड संस्थापक माकानुरासहित सबैलाई धन्यवाद दिए । सैनिक सेवादेखि नै फोटोग्राफीमा लागेका तमुले अहिले गोर्खा मिडिया डटकम न्यूज पोर्टल सञ्चालन गरिरहेका छन् ।


कास्की रिवानमा जन्मिएका तमु रिटायर्ड लाइफमा हाल बेलायतमा नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघसहित विभिन्न संघ संस्थामा आबद्ध छन् ।
समारोहमा तमुसहित अल्डरसट ग्यारिसन,अल्डरसट टाउन एफसी, फान्बोरो सिक्स फर्म कलेज, फार्नबोरो एयरपोर्ट, फार्नबोरो कलेज अफ टेक्नोलोजी, फार्नबोरो एफसी, ग्रिट वेस्टर्न रेलवे, ह्याम्पसायर एन्ड फायर सर्भिस,ह्याम्पसायर काउन्टी काउन्सिल, रश्मूर सिटिजन्स एड्भाइस ब्युरो, रश्मूर्स नेबरहुड पोलिस, रोयल मेल, रश्मूर भोलुन्टरी सर्भिस, साउथ इस्ट कोस्ट एम्बुलेन्स सर्भिस र स्टेजकोचलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा जीआरएनसी यूकेकी अध्यक्ष लिला सेलिङ माबो, प्रोजेक्ट म्यानेजर सुशीला थापा , गायिका पवित्रा गुरुङलगायत सहभागी थिए ।

