लन्डन । तमूधिं यूकेले आयोजना गर्ने ल्होछार कार्यक्रमका लागि ख्यातिप्राप्त लोक तथा दोहोरी गीतका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङ बेलायत आइपुगेका छन् ।
गायक/गायिका गुरुङत्रय आइतबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थलमा ओर्लिएका हुन् । कलाकारको स्वागतका लागि तमुधिं यूकेका अध्यक्ष हिता काजी गुरुङ, पूर्वअध्यक्ष सुर्जे रामचन्द्र गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए बेल्जियम उपाध्यक्ष लाल गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, टकमाय गुरुङ र राजकुमार गुरुङ एयरपोर्ट पुगेका थिए ।
तीनै जना कलकारले यही डिसेम्बर ३१ तारिख २०२२ मा तमुधिं यूकेले आयोजना गर्ने ल्होछार/ल्होसार कार्यक्रममा प्रस्तुति दिनेछन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि हुने छ । तमुधिं यूकेले हरेक वर्ष नेपालबाट कलाकारहरु डाकेर ल्होछार कार्यक्रम भव्यरुपमा मनाउने गरेको छ ।
गत वर्ष गायिका पवित्रा गुरुङले तमुधिंको ल्होछार कार्यक्रममा सांगीतिक प्रस्तुति दिएकी थिइन् । यस वर्ष ल्होछार कार्यक्रमका लागि उपाध्यक्ष जुमकाजी गुरुङ संयोजक छन् । उनले कार्यक्रमको तयारी तीव्र रुपमा चलिरहेको बताएका छन् ।
ल्होछारका दिन बर्सेनि प्रकाशन हुने फ्रेंसी पत्रिका विमोचन, 'डा हर्क अवार्ड २०२२' वितरण, विभिन्न समुदायमा योगदान दिने व्यक्तिहरुलाई सम्मान, राफल ड्र, राष्ट्रिय र स्थानीय कलाकारको नृत्य, गायनजस्त विविध प्रस्तुति हुने तमुधिंले जनाएको छ ।