फार्नबोरो । इन्टेक डिसेम्बर १९८७ ब्याचको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार, ७ मे २०२५ मा बेलायतको मिन्लीस्थित जिब्राल्टर ब्यारेक्सको वारन्ट अफिसर्स एन्ड सार्जेन्टस् मेसमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको संयोजन क्या. मोहन तामाङले गरेका थिए । अध्यक्ष मेजर देव गुरुङ एमभीओको आमाको निधन भएकाले कार्यक्रममा उपाध्यक्ष क्या. तामाङले पूर्ण जिम्मेवारी बहन गर्दै सफलतापूर्वक सञ्चालन गरेका थिए । कार्यक्रममा ८४ जनाको उपस्थिति रहेको थियो ।
इन्टेक डिसेम्बर १९८७ ब्याचमा १२५ जना मात्र भर्ती भएका थिए । उक्त इन्टेकको ब्रिगेडमा छुट्टै पहिचान रहेको कलर सार्जेन्ट दिपक काउचले उल्लेख गरे । ‘यो ब्याच पहिलो पटक २२ हप्ताको रिक्रुट ट्रेनिङ ट्रायलमा सहभागी भयो, डोको बोकेर परीक्षण दिइयो, एसए ८० हतियारको पहिलो प्रशिक्षण गरियो र युकेमा पहिलो ‘फेमेलीवाला’ ब्याच पनि यही हो,’ उनले भने ।

कार्यक्रमस्थलको व्यवस्थापन उत्कृष्ट रहेको थियो । खाना डाइनिङ हलमा, पेयपदार्थ डिङ्स बारमा र मनोरञ्जनका लागि बार एरिया खुला गरिएको थियो ।
संयोजक क्या. तामाङले कार्यक्रममा उपस्थित सहभागीप्रति आभार प्रकट गर्दै विभिन्न संघसंस्थामा विशेष जिम्मेवारी सम्हालिरहेका इन्टेक सदस्य तथा परिवारजनलाई सम्मान स्वरूप खादा लगाएका थिए ।
सम्मानित हुनेहरूमा घोताने/घोण्डे गुरुङ समाज यूकेको अध्यक्ष कुमार गुरुङ ‘क्वोने’, लम्जुङ समाज यूकेको अध्यक्ष पूर्णराज गुरुङ, लम्जुङ समाज आमा समूहका अध्यक्ष तारा गुरुङ, एमपीजीएसका हालै पदोन्नति कलर सार्जेन्ट हिराधन राई तथा काउन्सिलरमा निर्वाचित रोजीना प्रधान राई रहेका थिए । सबैलाई क्या. तामाङ र उनकी धर्मपत्नी श्रीमती कान्त तामाङले खादा लगाई बधाई दिएका थिए ।
मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत क्या. रामबहादुर मल्लले राफल ड्र, डक हन्टिङ, सेक हिटिङ र डार्ट थ्रोइङ खेल सञ्चालन गरेका थिए ।
भर्ती भएको ३७औँ वर्ष पुगेको उपलक्ष्यमा केक काटेर कार्यक्रमको विशेष क्षण सेलेब्रेट गरिएको थियो । केक इन्टेकका वरिष्ठ सदस्य नम्बरी गजबिर थापा (२११६७७११), जुरियर नम्बर नरेश राई (२११६७९४४) तथा उनीहरूका धर्मपत्नीद्वारा संयुक्त रूपमा काटिएको थियो।

कार्यक्रममा बाँसुरीमा कुल थापाको सुरिलो प्रस्तुति र नारायण गुरुङको एकल नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। आउँदो ४० वर्षे वार्षिकोत्सवलाई अझ भव्यतापूर्वक मनाउने प्रस्ताव प्रकाश गुरुङले राखेका थिए । नेप थापाले त्यसमा सकारात्मक सुझाव प्रस्तुत गरेका थिए ।
क्या रामबहादुर मल्ल, मेजर कुमार गुरुङ, दिपक काउचा, सुरेश कन्दङ्वा, काउन्सिलर रोजीना राई र हिराधन राईजस्ता व्यक्तित्वले कार्यक्रमको सान्दर्भिक पक्षमा मन्तव्य दिएका थिए ।
महासचिव पदम भुजेलले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष देवबहादुर गुरुङ, विक्रम गुरुङ, कुमार गुरुङ, चालक पुन, टिका गुरुङ, मानबहादुर गुरुङ, गजबीर थापा, नरेश राई, नारायण गुरुङ, लक्ष्मण राई र विष्णु राईले उल्लेखनीय सहयोग पुर्याएका थिए ।