लन्डन । तमु प्ये ल्हु संघ यूकेले हरेक वर्षझैं गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम आयोजना गर्ने भएको छ । यही जुन २८ शनिबारको दिन रेडिङस्थित ह्वाइट्ली उडलेनमा कार्यक्रम गर्ने निर्णय भएको संघका अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले जानकारी दिए । कार्यक्रम बिहान १० बजेदेखि राति ११ बजेसम्म तय गरिएको छ ।
कार्यक्रममा नेपालदेखि आएका राष्ट्रिय कलाकारहरु सबिना प्हच्यु तमु, प्रिया प्हच्यु, तिलक प्ल्हेँ तमु र बिमल परियारलगायत र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष क्यारि तमुले बताए । यस्तै नगद तथा आकर्षक पुरस्कारसहित राफल ड्र जस्ता आकर्षणहरु पनि कार्यक्रममा समावेश गरिएका छन् ।
उनले कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् । 'तमु प्ये ल्हु संघ यूकेले हरेक वर्ष झैँ यो वर्ष पनि वार्षिक गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने सहर्ष जानकारी गराउँदै बेलायतवासी सम्पूर्ण बाबा–आमा, दाजु–भाइ, दिदी–बहिनी, ईष्टमित्रलगायत सम्पूर्णलाई गरिमामय उपस्थितिको लागि हार्दिक विनम्र निमन्त्रणा गर्दछौं,' उनले सूचनामार्फत भनेका छन् ।
साथै कार्यक्रममा खेगी (पच्यु र क्ल्हेप्री)हरुद्वारा मानव र जगत भलाईका लागि ग्रह–शान्तिका पूजाहरु (पार्क त्हेँ , छ्योप र थासोँ त्हेँ) गरिने भएकोले शुभ–लाभ र ग्रहशान्तिकोालागि सरिक भइदिन पनि अनुरोध गरिएको छ । सपरिवार, आफन्त र ईष्टमित्र भेटघाट गरी भलाकुसरी गर्ने सूवर्ण मौका पनि कार्यक्रम हुने उनको विश्वास छ ।
यसैगरी, जिब्रो पड्काउने टिपनटापन, मिठो खाना र स्वादिलो सिजलिङ बीबीक्यू जस्ता मिष्टान्न परिकारको समेत व्यवस्था गरिनेछ ।