लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चले ८ लाख ५५ हजार पाउन्ड (नेरु १५ करोड ७७ लाख ७७ हजार बराबर)मा सुविधायुक्त गुम्बा भवन किनेको छ । लामो समयको प्रयासपछि बीसीसी यूके लन्डन ब्रान्चले लन्डनस्थित हेज नजिक हलिङटन अक्सब्रीजमा गुम्बा भवन खरिद गरेको हो । नयाँ भवनको साँचो मे ३० तारिख शुक्रबार प्रोपर्टी म्यानेजर एलेक्सबाट आमा अध्यक्ष दिलमाया गुरुङले ग्रहण गरेकी छन् ।

शुक्रबार नै दोर्जेन लुङ्गरिङ रिन्पोछे, गुपत गुरु र लोपेन गुरुहरुबाट संयुक्त रूपमा पूजा गरेर गुम्बा प्रवेश गरिएको छ । गुम्बा भवनको मूलढोकाको ताला दोर्जेन लुङ्गरिङ रिन्पोछेले खोलेर उद्घाटन गरे ।
कार्यक्रममा पूर्वमेयर तथा काउन्सिलर विष्णु गुरुङ, बीसीसी लन्डन शाखाका अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ, पूजा कोर्डिनेटर देवकला गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ, महासचिव हेलिशा गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष हर्कबहादुर गुरुङ, पूर्वअध्यक्ष धर्म तामाङ, बीसीसी लन्डन शाखाका प्रमुख सल्लाहकार तथा प्रोपर्टी कोओर्डिनेटर लेप्टेन नारायणप्रसाद गुरुङ बीईएम, बीसीसी यूकेका आमा अध्यक्ष जगना गुरुङ, पूर्वआमा अध्यक्ष पुष्प गुरुङ, पूर्वउपाध्यक्ष पूर्णमाया गुरुङ, कोषाध्यक्ष शर्मिला तामाङ साथै लन्डन वरिपरि बस्ने भक्तजनहरूको उपस्थिति रहेको थियो ।
गुम्बा स्थापनाले विशेष गरेर लन्डनमा बसोबास गर्ने सम्पूर्ण बौद्धधर्म मार्गीहरुलाई धार्मिक अभ्यास र विविध संस्कार गतिविधिहरू गर्न सहज हुने विश्वास गरिएको छ ।

२०१५ सालमा स्थापना भएको बीसीसी लन्डन शाखाले आज आफ्नै गुम्बा भवन स्थापना गर्न सफल गराउने कार्यक्रमा शाखा अध्यक्ष गोपाल, आमा अध्यक्ष दिलमाया, प्रोपर्टी कोअर्डिनेटर एवं शाखाका प्रमुख सल्लाहकार लेप्टिनेन्ट नारायणप्रसाद, बीसीसी यूकेका निवर्तमान अध्यक्ष हर्कको अहम् भूमिका रहेको महासचिव हेलिशा गुरुङले जानकारी दिइन् ।
आमा अध्यक्ष दिलमाया गुरुङले गुम्बा भवनको साँचो पाएकोमा खुसी साट्दै सबै सहयोगीलाई धन्यवाद दिइन् । 'आज, हामीले बौद्ध गुम्बाको साँचो पायौं, र हामी धेरै खुसी छौं । हाम्रो सपना साकार भएको छ, र अब हामी सँगै भेला भएर प्रार्थना गर्न सक् छौं। कृपया आउनुहोस् र हामीसँग सामेल हुनुहोस् । सबैलाई, तपाईंको सहयोगको लागि धन्यवाद ।' उनले ट्रस्टी बनेकालाई र सिधै रकम जम्मा गर्ने तथा ब्याज छुटे दिनेहरुलाई पनि धन्यवाद दिएकी छन् ।
गुम्बा घर सडक छेउमै पर्ने भएकोले भक्तजनहरुलाई यातायातको उपयुक्त सुविधा रहेको छ । यो गुम्बा लागि सहयोग अभियान सञ्चालन गरिरहेको जनाउँदै महासचिव गुरुङले ट्रस्टी बन्नका लागि १ हजारभन्दा बढी पाउन्ड पर्ने र अन्य तरिकाले दान दिन सकिने बताइन् । उनले लन्डनवासीलाई एकदमै उपयोगी बन्ने अपेक्षा रहेको महासचिव गुरुङको भनाइ छ ।


