लन्डन । नेपाली दूतावास लन्डनमा रात्रिभोजसहित १८ औं गणतन्त्र दिवस मनाइएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा बिहीबार एक समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो । नेपालमा सरकारले गणतन्त्र मनाएजस्तै विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।
समारोहमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकियोस् भन्ने कामना पनि गर्नुभयो ।
राजदूत घिमिरेले बेलायत र नेपालबीच ऐतिहासिक, बहुआयामिक तथा अतुलनीय सम्बन्ध रहेको उल्लेख गर्दै दूतावासले दुई पक्षीय कूटनीतिलाई मात्र प्राथमिकता नदिइ बहुपक्षीय कूटनीतिमा पनि काम गरिरहेको जनाउनुभयो । उहाँले बेलायतबाट नेपालको समुन्नतिका लागि यहाँका नेपाली कसले के योगदान गर्न सक्छन् त्यो महत्वपूर्ण भएको बताउनुभयो ।
समारोहमा नेपालका रक्षा सचिव रामेश्वर दंगाल, ननिटन मेयर भीम सारु मगर, काउन्सिलर रोजिना प्रधान राई, नायिका तथा पूर्वमिस नेपाल निती शाह, डा. योगी विकासानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु, दूतावासका कर्मचारी, बेलायतका विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।
सहभागीलाई खाना गोर्खा प्यालेसका प्रोपाइटर एवं सामाजिक अभियन्ता सूर्य गुरुङले उपलब्ध गराएका थिए ।









