कुवेत । 'रगतदान जीवनदान' भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमु समाज कुवेतले आयोजना गरेको नवौं बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार २३ मे २०२५ मा कुबेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पुरुष ९९ र महिला ३० गरी १ सय २९ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।
समाजका अध्यक्ष रन्जना गुरुङको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी काउन्सेलर सुजनी राणाको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएन कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतका प्रतिनिधि डा:अह्ममद अली, पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी, कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजीवी तथा स्वयंसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति थियो ।
अपराह्न २ बजेदेखि शुरु भएको कार्यक्रमलाई अध्यक्ष, प्रमुख अतिथि,विशेष अतिथिहरुहरुले संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि काउन्सेलर सुजनी राणाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानवीय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिइन् । उनले यस्तो पवित्र कार्य आयोजना गरेको भन्दै आयोजक तमु समाज कुवेतको खुलेर प्रसंशा गरेकी थिइन् ।
यसैगरी ब्लड बैंकका प्रतिनिधि, एनआरएन कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङले शुभकामना मन्तव्य दिएका थिए ।

समाजका भूतपूर्व अध्यक्ष राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष रन्जना गुरुङले जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरुमाझ सचेतना जगाउँदै यस्ता मानवीय कार्यमा उप्रेरणा जगाउन तमु समाज हरदम लागि परेको प्रस्ट्याइन् । उनले नवौं बृहत् रक्तदान कार्यमा सहभागी नेपाली राजदूतावास कुबेत,नेपाली संघ संस्था एवं पत्रकार,सहयोगीलगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गरिन् भने कुवेतमा रगत आवश्यक भई उपचारमा कठिनाई भोगीरहेका अनेकौं बिरामीहरुलाई तमु समाजको पहलमा रगत उपलब्ध गराउँदै आएको छ ।
