लन्डन । तमुधीं यूकेले बेलायत भ्रमणा रहेकी नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी 'साम्बा'लाई सम्मान गरेको छ ।
मिचेटस्थित तमुधीं भवनमा सोमरबार साँझ २६ मे २०२५ मा आयोजित कार्यक्रममा साम्बालाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत पदाधिकारी, सदस्यलगायतले स्वागत, सम्मान गरेका हुन् । साम्बा तमुधीं यूकेकै निमन्त्रणामा २५ मे मा आयोजित २३ औं गोर्खाकपका लागि २२ मेमा बेलायत आएकी थिइन् ।
साम्बा नै प्रमुख अतिथि बनाइएको कार्यक्रममा विशेष अतिथिहरु एसपी प्रताप गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई पनि स्वागत, सम्मान गरिएको थियो । एसपी प्रतापकी उनकी पत्नि र सासुआमा पनि थिए । साथ कलाकारहरु पवित्रा गुरुङ, प्रिया गुरुङ र सुरेन्द्र गुरुङलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई खादा, पुष्पगुच्छा दिइएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए भने कार्यक्रम सञ्चालन गर्दै महासचिव डा विशाल गुरुङले नै हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएका थिए ।

सम्मान कार्यक्रममा संक्षिप्त धारणा राख्दै चर्चित खेलाडी साम्बा,एसपी प्रताप र तमुधीं नेपालका अध्यक्ष हुमबहादुरले आफूहरुलाई स्वागत, सम्मान गरेकोमा आयोजकलाई धन्यवाद तथा आभार प्रकट गरे ।
साम्बाले बेलायतमा उच्च सम्मान पाएको भन्दै तमुधीं यूकेको प्रशंसा गरिन् ।'लाइफमा यत्तिको स्वागत र सम्मान पाएको थिएनँ । यो विशेष सम्मानका लागि तमुधीं यूकेका आदरणीय अध्यक्ष जुमकाजी गुरुङसहित सम्पूर्ण कार्यसमितिलाई धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।' उनलाई बेलायतमा ल्याउने ट्राभलिङ खर्च र खाना, बस्ने प्रबन्ध सूर्य गुरुङको नेतृत्वमा रहेको पिपल ग्रुपले गरेको थियो ।
कार्यक्रममा बोल्दै तमुधीं यूकेका खेलकुद सचिव तथा गोर्खाकप २०२५ का कार्यक्रम संयोजक क्या दिपक घलेले पहिल्यै पनि साम्बालाई बेलायत ल्याउने कोसिस गरे पनि समयका कारण नमिलेको र यसपटक ल्याउन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

अध्यक्ष जुमकाजी गुरुङले स्वागत, सम्मान कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । उनले गोर्खाकप सफल पारिदिएकोमा सबैलाई धन्यवाद दिए ।
यसैबीच लमजुङ समाज यूकेले नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी 'साम्बा'लाई सम्मान गरेको छ । मिचेटस्थित तमुधीं यूकेको भवनमा सोही दिन आयोजित स्वागत, सम्मानका कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, आमा समूह अध्यक्ष तारा गुरुङले खादा, पुष्पगुच्छा र मायाको चिनोसहित सम्मान गरे । त्यसक्रममा लमजुङ समाजका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति थियो ।
तमुधीं यूकेले साम्बाको स्वागत, सम्मानका लागि आयोजित कार्यक्रममै लमजुङ समाज यूकेले साम्बालाई गृहजिल्लाकै चर्चित खेलाडीको नाताले सम्मान गरेको जनाएको छ । साम्बालाई थप प्रगतिको शुभकामना दिइएको थियो । साम्बाले आफूलाई जिल्लावासी समाजले बेलायतमा सम्मान गरेकोमा आभार प्रकट गरिन् । उनी मंगलबार फिर्ता हुने कार्यक्रम छ ।

