लन्डन । ओशो आनन्दबोधी ध्यान केन्द्र बेलायतको आयोजनामा स्वामी आनन्द अर्हतको मार्गदर्शनमा बेलायतको मेडनहेडस्थित सीममोर हलमा चारदिने आवासीय ओशो ध्यान शिविर सम्पन्न भएको छ ।
काठमाडौँस्थित ओशो तपोवनका वरिष्ठ ध्यान प्रशिक्षक स्वामी अर्हतले सञ्चालन गरेको शिविर मे २४ देखि २६ सम्म सञ्चालन भएको हो ।
आयोजक शंकर ढकालका अनुसार, यस प्रकारको आवासीय ध्यान शिविर बेलायतमा विगत कैयौँ वर्षदेखि नियमित रूपमा हुँदै आएको छ। यस पटकको शिविरमा ८ वर्षदेखि ७० वर्ष उमेर समूहका करिब ५० जनाको उत्साहजनक सहभागिता रहेको थियो। नयाँ पुस्ताको सक्रिय सहभागिता उल्लेखनीय रहेको भन्दै ढकालले खुशी व्यक्त गरे।

शिविर प्रत्येक दिन बिहान ६:३० बजे सुरु भई बेलुका १०:०० बजेसम्म सञ्चालन भएको थियो । सहभागीहरूका अनुसार, ध्यानमा गहिरो डुबानका कारण समयको अनुभूति नै भएन। सहभागी महेश अधिकारीले गोर्खा मिडियासँग प्रतिक्रिया दिँदै भने, 'यति लामो समय बितेको पत्तै भएन। ध्यानमा आफै हराएको जस्तो लाग्यो।'
चारदिने शिविरमा ओशो डाइनेमिक ध्यान, कुण्डलिनी ध्यान, चक्र ब्रीदिङ ध्यान, चक्र साउन्ड ध्यान, योग अभ्यास, ओशोका सान्दर्भिक प्रवचनहरू तथा स्वामी अर्हतका व्यक्तिगत अनुभवका आधारमा आधुनिक जीवनशैलीमा ध्यानको प्रयोग र महत्वबारे प्रशिक्षण दिइएको थियो।
शिविरको विशेष पक्षका रूपमा १० जनाले सन्यास ग्रहण गरी ओशोको माला धारण गरेका थिए। दीक्षा दिनुअघि सुनाइएको ओशोको विचारले नयाँ सन्यासीहरूमा गहिरो प्रभाव पारेको देखिन्थ्यो। ओशोका शब्दहरू, 'तिमी पूर्ण रूपमा स्वतन्त्र छौ। म तिमीलाई खुलापनमा फ्याँकिदिनेछु। दीक्षाको अर्थ यही हो।' भन्ने भनाइले भावुक बनाएको सहभागीहरूले बताए।
कार्यक्रमको अन्तिम दिन नयाँ सन्यासीहरूको अनुभव साझा गर्ने सत्र विशेष आकर्षणको रूपमा प्रस्तुत भयो।
पूर्वी लन्डनबाट आएकी सुशीला थापाले भनिन्, 'छोरीको आग्रहमा आएकी थिएँ, तर शिविरको अनुभवले जीवनमै परिवर्तन ल्याइदियो। अहिले हामी दुवै आमा-छोरी सन्न्यासी भएका छौँ।'

सुरज मास्केले गहिरो ध्यानमा जाँदा आएको डरका अनुभवलाई साझा गर्दै गुरुको सान्निध्यमा धेरै सिक्न पाएको बताए।
सुरक्षा लम्साल, युनिभर्सिटीकी विद्यार्थी, ध्यान अभ्यासपछि आफूमा गहिरो परिवर्तन आएको अनुभव सुनाउँछिन्। उनले भनिन्, 'धेरै किताब पढेँ, तर ध्यानले जीवनमा नयाँ अनुभूति दियो।'
यस्तै, रोजी शर्मा, जो पहिले आँखा बन्द गर्न पनि सहज अनुभव गर्दैनथिन्, अहिले भने 'आँखा खोल्न पनि मन लाग्दैन,' भन्छिन्।
दिपेन सिटौलाले यसअघि पनि ध्यान शिविरहरूमा सहभागिता जनाएका थिए। यसपटक भने माला धारण गर्ने वातावरण मिलेको भन्दै उनले आफूलाई भाग्यशाली ठानेका छन्।
शिविरको समापन समारोह शान्त र भावुक वातावरणमा सम्पन्न भयो। सहभागीहरूमा आत्मिक शान्ति, नयाँ ऊर्जा र ओशोको शिक्षाबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा देखिन्थ्यो