लन्डन । बेलायतमा सहारा यूकेको १४औं वार्षिक च्यारिटी डिनर नाइट शनिबार भव्य रुपमा सम्पन्न भएको छ ।
अल्डरसटको हाइ स्ट्रीटस्थित एम्पायर बैंक्वेटिङ हलमा शनिबार २२ नोभेम्बरमा अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा सांगीतिक, सांस्कृतिक र सामाजिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष गुरुङ, प्रमुख अतिथि दुवाडी र संस्थापक अध्यक्ष नवीन गुरुङले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि नेपाली र बेलायतको राष्ट्रिय गीत बजाइएको थियो ।

महासचिव क्या पिताम्बर गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमबारे जानकारीसहित स्वागत मन्तव्य उपाध्यक्ष एवं कार्यक्रम संयोजक शारदा गुरुङले राखेका थिए । सयपत्री कल्चर ग्रुपका कलाकारहरुले स्वागत नृत्य देखाए भने महासचिव क्या गुरुङ सहारा यूकेबारेको डकुमेन्ट्री प्रस्तुत गराका थिए ।
कार्यक्रममा बेलायतमा सक्रिय सामाजिक अभियन्ताद्वय सहारा यूकेका सल्लाहकार तथा तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ र सहारा यूकेका सल्लाहकार तथा तमु धीं यूकेका संस्थापक सदस्य चन्द्रबहादुर गुरुङलाई सम्मानित गरिएको थियो । रामचन्द्रलाई सहारा यूके स्पेशल अवार्ड २०२५ र चन्द्रबहादुरलाई सहारा यूके अवार्ड प्रदान गरिएको हो । उनीहरुसहित दम्पतीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लन्डनका कार्यवाहक दुवाडी, सहारा यूकेका अध्यक्ष गुरुङ र फस्ट लेडी जुना गुरुङले अवार्ड, दोसल्ला,पछ्यौरा, पुष्पगुच्छासहित सम्मान गरे ।

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सदस्यहरुलाई सहारा यूकेले बर्षेनि अवार्ड प्रदान गर्दै आएको छ । नेपाली कलाकारलाई स्वागत र अचिभमेन्ट अवार्ड वितरण गरिएको थियो ।
सोही अवसरमा कुसाङ गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ,लेफ्टिनेन्ट कर्णेल टोल खाम्च, एम्पायर हलका सञ्चालक पुरन गिरी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एभरेस्टका एस गुरुङ, सहारा यूकेका सदस्यका छोराहरु नयाँ खेलाडी अर्नभ थापा र किवन राईलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दूवाडीले सहारा यूके र शुभकामना मन्तव्य व्यक्त गरे भने अध्यक्ष कृष्ण गुरुङले अतिथिसहित उपस्थितसहित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा द भ्वाइस अफ नेपालकी चर्चित गायिका नीता पुनले लाइभ प्रस्तुति दिएकी थिइन् भने सयपत्री कल्चरल ग्रुपले कार्यक्रमको बीच्च बीच्चमा विविध सांस्कृतिक नृत्यहरू देखायो ।
कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो । जसको प्रथम पुरस्कार अनुग्रह गोल्ड हाउसका प्रोपाइटर सुमन राईले अनुग्रहको ब्रान्ड स्वीस वाच प्रायोजन गरेका थिए । दोस्रो पुरस्कार तमु धीं यूकेका उपाध्यक्ष तथा चाइना ओरियन्टलका प्रोपाइटरु कमल गुरुङले ३ सय पाउन्ड प्रदान गरेका थिए । तेस्रो पुरस्कार व्यञ्जन रेस्टुरेन्टले प्रायोजन गरेको थियो ।

च्यारिटी डिनर नाइटबाट संकलित रकमको आधिकारिक विवरण आइसकेको छैन । सहारा यूकेले संकलित रकम विभिन्न सामाजिक र दातव्य परियोजनाहरूमा खर्च गरिने जनाएको छ । आयोजकले १४ औं च्यारिटी डिनर नाइट कार्यक्रम सफल भएको दाबी गरेको छ ।
कार्यक्रममा सहारा यूकेका पूर्व र वर्तमान पदाधिकारी, सदस्य, सल्लाहकारसहित बेलायतमा सक्रिय विभिन्न नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्षहरु ब्रिटिस आर्मीका उच्च ओहदाका महानुभावहरु, गैरनेपालीलगायतको बाक्लो उपस्थिति थियो । फोटो भिडियो मिलन तमु,एसके गुरुङ, प्राविधिक सहयोग ओम लामाले सहयोग गरेका थिए । रिसेप्सनमा आमा समूहले सहजीकरण गरेका थिए ।


