लन्डन । एनआरएनएका पूर्वअध्यक्ष तथा लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ ।
सोमबार काठमाडौं मैतीदेवीमा रहेको स्वर्गीय कृष्ण योग केन्द्रमा आयोजित समारोहमा लेखक लामिछानेलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ का तर्फबाट अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिना, डा वासुदेव त्रिपाठीलगायतले एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे । साहित्यकार डा त्रिपाठीले ‘अक्षत अन्टार्कटिका’ले पाठकलाई ‘अन्टार्कटिका’ को यात्रा गराउने बताए । डा त्रिपाठीले साहित्यकार उत्तम कुँवरसँगको भेटघाट, नेपाली साहित्यको विकासमा ‘रुप रेखा’ को योगदानका विषयमा चर्चा गरे ।
गुठीका अध्यक्ष डा तिमिल्सिनाले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रावृतान्तमार्फत् पर्यावरणजस्तो विषयलाई सशक्त रूपमा बहसको विषय बनाउन सफल भएकाले उक्त पुरस्कार दिने निर्णय गरिएको बताए । उनले यो पुरस्कारलाई साहित्यकार कुँवर परिवारको सहयोगले निरन्तर रुपमा अगाडि बढाइरहेका बताए । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायत आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले विसं २०४४ देखि एक लाख रुपैयाँ राशिका पुरस्कार समर्पित गर्दै आइरहेको उनले जानकारी दिए ।
लेखक लामिछाने पुरस्कारले लेखकका रूपमा आफूलाई ऊर्जा थपेको बताए ।
विगतमा यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भट्टराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यासलगायत पुरस्कृत भइसकेको गुठीले जनाएको छ ।