लन्डन । इन्डो-ब्रिटिस बिजनेस फोरमले नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्रदान गरेको छ ।
फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले नेपाललाई उक्त अवार्ड प्रदान गरेकी हुन् । उनी नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिइरहेका छन् ।
नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो । सन् २०१८ देखि शुरु भएको नेपाल फुड्सले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।
विकास नेपालले बिजनेस मात्रै गरेका छैनन्, देशकै ब्रान्डिङ् र हाम्रो मौलिक खाद्यसामग्रीको विश्वव्यापीकरणमा ठूलो योगदान गर्दै छन् । स्थानीय चिउरा होस् कि भटमास, डल्ले खुर्सानीको अचार होस् कि टिम्मुरको छोप २०० भन्दा बढ़ी नेपाली उत्पादन यूकेदेखि अस्ट्रेलियासम्मका सुपरस्टोरमा सजिलै किन्न सकिन्छ । काठमाडौंको आफ्नै फ्याक्ट्रीबाट २५ बढ़ी देशमा यी उत्पादन पुग्छन् । देशमा रोजगारी र निर्यातदेखि विश्वका कुनाकुनामा बस्नेलाई 'अथेन्टिक' नेपाली स्वाद त पुगेकै छ, उनको बजार र सोच त्यसभन्दा पनि ठूलो छ ।
बेलायतमा हुने कपिल शर्मा शो होस् या बलिउडका हस्तीहरूको कार्यक्रम, उनको 'नेपाल फुड्स' प्रमुख स्पोन्सर बन्ने गर्छ । नेपाली कार्यक्रम त छँदै छ । हरेक सामाजिक इभेन्टमा उनले सहयोग र स्पोन्सर गर्दै आएका छन् । गुणस्तरदेखि मूल्यसम्म भारतीय उत्पादनसँग सोझै प्रतिष्पर्धा गर्न सक्नु चानचुने कुरा होइन ।