लन्डन । तमुधीं यूकेले कलाकार, पत्रकार र शिक्षकलाई सम्मान गरेको छ । मिचेटस्थित तमुधीं भवनमा शनिबार आयोजित २३ औं गोर्खाकपबारेको पत्रकार सम्मेलनका क्रममा लमजुङ सदरमुकाम बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रिन्सीपल विनोद गुरुङ, विद्यार्थी, नेपालबाट बेलायत आएका कलाकारहरु शितल गुरुङ, विमला गुरुङ, विमल परियार, तिलकबहादुर गुरुङ, कान्तिपुर लमजुङ संवाददाता आश गुरुङलगायतलाई सम्मान गरिएको हो ।

पत्रकार गुरुङ गुरुङलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङले क्रेगी (फेटा) बाँधिदिनुका साथै खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए । गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्याएको भन्दै संवाददाता गुरुङलाई सम्मान गरेको तमुधीं यूकेका महासचिव डा. विशाल गुरुङले बताए ।

यस्तै, कलाकार, शिक्षक, विद्यार्थीहरुलाई खादा, नगदसहित सम्मान गरिएको थियो । तमुधीं यूकेले आयोजना गरेको सम्मान कार्यक्रममा संस्थाका ट्रष्टिजहरु,संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, संस्थालाई विभिन्न समय योगदान गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको उपाध्यक्ष दिलमाया गुरुङले बताइन् ।
पत्रकार सम्मेलनमा बेलायतमा यही २५ मे मा आयोजना हुने गोर्खा कपबारे टिम ड्र र तयारीबारे जानकारी गराइएको छ ।