लन्डन । बेलायतमा बुद्धिस्ट गुम्बा रेडिङ यूकेले २५६९औँ बुद्ध जयन्ती मनाएको छ । बुद्धिस्ट गुम्बा रेडिङमा सोमबार १२ मे २०२५ मा ल्हाचे टुल्कु रिन्पोछेको विशेष उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । उक्त अवसरमा बिहान १० बजेपछि अपराह्नसम्म बुद्धको तस्बिर र बुद्धमूर्तिमा पूजाआजा, बुद्ध भैषजय, वाङ प्रदानजस्ता कार्य गरिएको थियो । बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई. खेमबहादुर गुरुङ, प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र लामा गुरुङले बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई. खेमबहादुर गुरुङको अगुवाइमा भएको कार्यक्रममा प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, अतिथिहरु तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङ, चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङ, लमजुङ समाज यूकेका पूर्वअध्यक्ष बोहत गुरुङ, क्वोंने (घोताने, घोण्डे) गुरुङ (तमु) समाज यूकेका संस्थापक अध्यक्ष नरजंग गुरुङ, एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङसहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, लामागुरु, भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने परम्पराअनुसार बुद्धिस्ट गुम्बा रेडिङ यूके आयोजना गरेको हो । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाणसमेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद् मार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यस दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गरिन्छ ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै सोमबार नेपाल, बेलायतसहित विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन नेपाल सरकारले आह्वान गरेको थियो ।

नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको इतिहासमा पाइन्छ ।








