लन्डन । थेम्स नदीमा मृत भेटिएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन बेलायतमा ८ हजार ६ सयभन्दा बढी पाउन्ड संकलन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा यूके) ले क्राउडफन्डर डट सीओ डट यूके अनलाइन प्लाटफमममार्फत थालेको सहयोग अभियानमा शुक्रबार ९ मे २०२५ बेलुकीसम्म ८ हजार ६ सय ३६ पाउन्ड संकलन भएको हो । जसमा ५ सय १० जनाले सहयोग गरेका छन् ।
रुकुम पश्चिमको मुसिकोटका सुशन ओलीको शव नेपाल पठाउन आर्थिक समस्या देखिएपछि रास्वपा यूकेले सहयोग संकलन थालेको हो । शव नेपाल पठाउने जहाज भाडा, कानुनी कागजात मिलाउने, अन्त्येष्टिलगायत खर्चका लागि अभियानमार्फत ७ हजार पाउन्ड उठाउने लक्ष्य राखिएको थियो ।
सुशनको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको थियो । बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय ओली अप्रिल २१ तारिख (वैशाख ८) देखि सर्म्पकविहीन थिए । सुशन कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए ।
यसैबीच दारी ग्याङ यूकेले सुशनको परिवारलाई आर्थिक सहयोग गरेको छ । दारी ग्याङ यूकेले आफ्ना सदस्यहरूमार्फत संकलित कुल रकम £287.79 (नेपाली रुपैयाँ ५१,५१४) स्वर्गीय सुशान ओलीको बुवा नवराज ओलीको बैंक खातामा पठाइएको अध्यक्ष सुशील गौतमले जनाए । उक्त समूहले ओलीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।
दारी ग्याङ एक सामाजिक संस्था हो जसको स्थापना वि. स. २०७२ मा ‘बाहिरी आवरणबाट होइन, भित्री मानवीय गुणले व्यक्ति मूल्यांकन गरिनुपर्छ’ भन्ने मूल सन्देशसहित गरिएको थियो। समाजमा दारी कपाल पाल्ने युवालाई हेर्ने नकारात्मक दृष्टिकोण विरुद्ध आवाज उठाउँदै आत्म–सम्मान र सामाजिक योगदानमा विश्वास राख्ने युवा समूहले यो अभियानको सुरुवात गरेको हो।
नेपालमा ४० बढी जिल्लामा सक्रिय शाखा भएको यस संस्थाको उपस्थिति हाल युके, कतार, दुबई, कुवेत, दक्षिण कोरिया लगायत विभिन्न मुलुकमा फैलिएको छ।
https://www.crowdfunder.co.uk/p/crowdfunding-community-support-to-bring-him-home?fbclid=IwY2xjawKLJT9leHRuA2FlbQIxMQBicmlkETEwV3dKVFd6SEpCMGk2NE9ZAR7yc_6BH4c3eERNyqMgNvM1stzf2UeNGLq4Qhpsh8_9iceBzhs93OCHS8XKQQ_aem_g2gCHxLP7XM15GYk5gTEkw