अल्डरसट । बेलायतमा ६ जना नेपाली युवाहरूले पहिलो पटक ‘अल थिङ्स आर्ट एन्ड क्रिएटिभ’ (एटीएएसी) कला प्रदर्शनी आयोजना गरेका छन् ।
Underadar समूहले नेपाली कलाकारहरूलाई एकीकृत प्लेटफर्म प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हुन् । प्रदर्शनीको उद्घाटन ३ मेमा West End Arts Centre, Aldershot मा गरिएको छ । उद्घाटन कार्यक्रममा अल्डरसट क्षेत्रकी लेबर सांसद एलेक्स बेकर प्रमुख अतिथि र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ विशेष अतिथि रहेका थिए ।
सागर गुरुङले सञ्चालन गरेको कार्यक्रममा ६ जना नेपाली कलाकारले आफ्ना सिर्जना प्रदर्शनीमा राखेका छन् । युवाहरूले गरेको कामप्रति उनी खुसी भएकी थिइन् । यसका रचनात्मक काममा आफू युवाहरूको साथमा रहेको उनको भनाइ थियो ।

वेस्ट इन्डका भित्तामा प्रदर्शनी मे महिनाभर कलाहरू सजिनेछन् । सो अवधिभर यहाँ आएर कला अवलोकन तथा खरिद गर्न सकिनेछ । सहभागी केहीले युवाका कलाहरू किनेर पनि लगेका थिए । प्रदर्शनी अवलोकन गर्नेको बाक्लो जमघट भएको थियो । सागरले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
युवा आर्टिस्टहरू सागर गुरुङ, आषिश राई, कल्पना पुन, सञ्जिता गुरुङ, अस्मिना लामिछाने र नवकिरण राईको आर्टहरू प्रदर्शनीमा राखिएको छ ।
बेलायतमा रहेका नयाँ पुस्ताका नेपालीलाई अन्तरसंस्कृतिक समावेशिताको अनुभूति दिलाउने प्रयासमा यो प्रदर्शनी कोशेढुंगा साबित हुने आयोजकको विश्वास छ ।