काठमाडौँ । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेद्वारा लिखित ‘अक्षत अन्टार्कटिका’ लाई २०८१ को सालको उत्तमशान्ति पुरस्कार प्रदान गरिने भएको छ । ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले १ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने जनाएको हो ।
गुठीका अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रा वृत्तान्तमार्फत पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल भएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
निबन्धकार उत्तम कुँवरको २०३९ सालमा ४३ वर्षको उमेरमै दिवंगत भएपछि उनको स्मृतिमा धर्मपत्नी शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी हुन् । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायत आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई गुठीले २०४४ सालदेखि पुरस्कार समर्पित गर्दै आइरहेको छ ।
विगतमा यस पुरस्कारबाट मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भट्टराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यासलगायत सम्मानित भइरहेका छन् ।