लन्डन । तमुधिं यूकेको ल्होछार संयोजनका लागि अन्तिम बैठक सम्पन्न भएको छ ।
अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा आइतबार १८ डिसेम्बर दिउँसो बसेको बैठकलाई वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेपश्चात् ल्होछार पार्टीका संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले पार्टीबारे अहिलेसम्म भएको तयारीको विवरण प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिपछि आम्दानी स्रोत जुटाउनका लागि प्रायोजकहरु ख़ोज्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यसमितिका सदस्य डा. बिशाल गुरुङले अर्को वर्षको जनवरी ६ मा नेपालको स्याङ्जा जिल्लामा मोतीबिन्दुबाट ग्रसित बिरामीहरुका लागि ५ दिने स्वास्थ्य शिविर (Health Camp) राख्ने योजना गरेको सबैलाई जानकारी गराउॅंदै कहाँ के कसरी गरिँदैछ भन्नेबारे आफ्नो प्रस्तुति राखेका थिए । त्यसपछि संस्थाका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य श्री गुरुङ राम्चे समाज यूकेका अध्यक्षमा निर्वाचित भएकोमा र कोषाध्यक्ष कमल गुरुङ सहारा यूकेबाट सहारा अवार्डबाट सम्मानित भएकोमा अध्यक्ष हितकाजी गुरुङले खादा र क्रेगी लगाई बधाई दिएका थिए ।
त्यस्तैगरी नेपालबाट आएका गुरुङ चलचित्रका नायक, नायिका धेरै वर्षअघिदेखि सेवा पुऱ्याइरहेका डिबी (धनबहादुर) गुरुङ र जसु गुरुङलाई खादा क्रेगी र क्रमु ओढ़ाई प्रशंसापत्रको साथमा उपहारसहित सम्मान गरिएको थियो । तमुधिं यूकेलाई सम्मानका लागि धन्यवाद दिँदै नायिका जसु गुरुङले एउटा मायाको चिनो अध्यक्ष हित काजीलाई हस्तान्तरण गरेकी थिइन् ।
आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा अथाह सहयोग र योगदान पुऱ्याउने ११औं कार्यसमितिका पदाधिकारीहरुलाई अध्यक्ष गुरुङले खादा र क्रेगी लगाई धन्यवाद ज्ञापन गरेका थिए भने आमा समूहकी अध्यक्ष मन्जु (सीता) गुरुङले आफ्नो कार्यसमितिका पदाधिकारीहरुलाई खादा र क्रमु ओढ़ाई धन्यवाद दिएकी थिइन् ।
अध्यक्ष गुरुङले आफ्नो मन्तव्यमा ल्होछार पार्टीको लागि सबैले आआफ्नो क्षेत्रबाट विभिन्न माध्यमबाट सहयोगको अपेक्षा राख्दै बैठकमा उपस्थित भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिई बैठकलाई समापन गरेको महासचिव परशु गुरुङले जानकारी दिए । महासचिव परशु गुरुङले संचालन गरेको कार्यक्रममा २९ जनाको उपस्थिति रहेको थियो ।