लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राई बेलायतमा काउन्सिलर निर्वाचित भएकी छन् ।
बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट रोजिना ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी भएकी हुन् । शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाइन् । उनका निकटतम् प्रतिद्वन्द्वी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए । एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध छन् समाजसेवी रोजिना राई ।
उनी एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष हुन् । बेलायतमा महिला उद्यमीको परिचय बनाएकी रोजिना च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको चियर पनि हुन् । एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहँदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन् । एनआरएनए यूके अध्यक्ष पदमा सफलता हासिल हुन नसके पनि उनले यस संघमा सक्रियता छाडेकी छैन् । रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।
बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले नेपाल र बेलायतमा कयौं व्यवसाय समेत सञ्चालन गरिरहेकी छन् । रोजिनालाई व्यवसायमा आफ्नो श्रीमान हिराधन राईको पनि सहयोग छ । राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । उनले सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन् ।
खोटाङ बांसपानीस्थित राष्ट्रिय माविमा इ–लाइब्रेरी, खोटाङ बाँसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान लगायत कार्य गरेकी थिइन् ।
एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके, एनआरएनए यूके आदि संस्थामा सल्लाहकार हुन् । बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले विभिन्न संसघसंस्थाबाट सम्मान पाएकी छन् । उनले बेलायतमा विभिन्न महिला संघसंस्थामा आवद्ध रहेर महिला हक हित र सशक्तिकरणका लागि अनवरत काम गरेकी छन् ।

