लन्डन । ब्रिटिस आर्मीमा भर्ना भएको ४५ वसन्त पार गरेको अवस्थामा ३२ ट्रेनिङ पार्टी क्वीन्स् गोर्खा इन्जिनियर्स (क्यूजीई)का नम्बरीहरुले वार्षिकोत्सव मनाएका छन् ।
गत शनिबार २६ अप्रिलका दिन मिचेटस्थित तमुधीं यूकेको हलमा भैरव गुरुङ र ले. बिर्ख राईको आतिथ्यमा विभिन्न कार्यक्रमका साथ नम्बरीहरुले ४५ औं वार्षिकोत्सव भव्य रुपमा मनाएका हुन् । कार्यक्रममा दिवंगत नम्बरीहरु र गुरुजीहरुको आत्मा शान्तिको लागि एक मिनेट मौनधारण गरी सिनियर नम्बरी ३६५४ र २ जना गुरुजीहरुको संयुक्त हातबाट ४५औं वार्षिकोत्सवको केक काटिएको थियो ।
३६६८ परशु गुरुङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमको अवसरमा ब्रेकन सिटी काउन्सिलका काउन्सिलरमा चयन भएको नम्बरी ३६७२ महादेव थापा र तमुधीं यूकेको अध्यक्षमा चयन भएका नम्बरी ३६८५ जुमकाजी गुरुङसहित बहिनीहरुलाई खादा, क्रेगी लगाई पुष्पगुच्छाको साथमा बधाई तथा शुभकामना दिइएको थियो । त्यस्तै गरी सिनियर नम्बरीबाट गुरुजीहरुलाई खादा लगाई स्वागत गरिएको थियो । सिनियर दर्जामा पुगेका नम्बरी ३६७३ मेजर धन चन्द र बहिनीलाई पनि खादा लगाई बधाई दिएको थियो ।
कार्यक्रम आयोजक समितिका नम्बरीहरु ३६५९, ३६६०, ३६६३, ३६६५, ३६६८, ३६८४, ३६८५, ३६८६ लाई अगाडि बोलाई विशेष धन्यवाद दिइएको थियो ।
कार्यक्रममा लामो दूरी वेल्स, क्याट्रिक, बर्मिङघम, लिभरपुल, मेडस्टोनमा बसेका नम्बरीहरु र बहिनीहरुको उपस्थिति रहेको थियो । गोर्खा किचन अल्डरसटबाट व्यवस्था गरिएको बीबीक्यू, बफेट साथै मनकामना रेष्टुरेण्ट क्याम्बर्लीबाट व्यवस्था गरिएको सेल रोटी र विभिन्न प्रकारका पेय पदार्थको साथमा लोकप्रिय तथा बहुप्रतिभाशाली गायिका पवित्र गुरुङको प्रस्तुतिसँगै सबैजना रमाएका थिए ।
कार्यक्रमको अन्तमा अतिथि कलाकार पवित्र गुरुङ र फोटो तथा भिडियोग्राफर ३६५९ गिरबहादुर गुरुङलाई उपहारको साथ विशेष सम्मान गरियो । राति करिब ९ बजे कार्यक्रमको बिट मारिएको थियो । अर्को साल २०२६ को मे महिनाको २ तारिखमा वेल्समा भेट्ने कार्यक्रमसमेत तय भएको छ।

