लन्डन । हरेक वर्ष जस्तै यस वर्ष पनि २६ अप्रिलमा दिदीबहिनीहरूले लेडिज रमझम च्यारिटी नाइटमा डीजे हेम विष्टको प्रस्तुतिसाथ धमाका मच्चाएका छन् ।
गत १६ मार्च आइतबार मगर संघ यूके युनाइटेड ह्याम्पसेयर, सर्रे, बर्कसायर, (यूएचएसबी) शाखाका महिला समितिका अध्यक्ष धना रोकाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार च्यारिटी नाइट भएको हो । उक्त बैठकले च्यारिटीबाट नेपालमा सहयोग गर्ने निर्णय गरेको थियो । सोही दिन लेडिज कमिटीको नयाँ कार्य समिति गठन भएको थियो । जसमा नानु राना अध्यक्षमा चयन भएकी थिइन् ।
लेडिज रमझम नाइट सन् २००७ मा स्थापना भएको हो । त्यसयता निरन्तर रूपमा भइरहेकामा कोभिड १९ को विषम परिस्थितिमा मात्र हुन सकेको थिएन । सुरुमा यो कार्यक्रमको मुख्य उद्देश्य दिदीबहिनी जम्मा भएर आ-आफ्नो कला प्रतिभा देखाउने जस्तै कविता, गीत, नृत्य प्रस्तुत गर्ने भेटघाट गरेर भलाकुसारी, एकआपसमा परिचय गर्दै स्वैच्छिक पहिरनमा मनोरञ्जन गर्ने थियो । अहिले आएर सबैजना डिजेको साथ नयाँ पुराना गीतबाट नै भरपुर मनोरञ्जन लिने गरेको सचिव जमुना थापाले बताइन् ।

संस्थाले हरेक वर्षको कार्यक्रमबाट उठेको रकम नेपालमा र बेलायतमा सहयोग गर्दै आइरहेको छ। संसारको होचो मान्छे गिनिस बुकमा रेकर्ड भएको खगेन्द्र थापा, दिल शोभा (आमाघर), इन्दिरा आमा (कारागारमा रहेका आपराधिक अभिभावकका बिचल्ली छोराछोरीको हेरचाह), पश्चिमाञ्चल प्रसूति गृह, दीक्षा चापागाईं (वृद्ध तथा बालबालिकाको हेरचाह), अनुराधा कोइराला (माइती नेपाल), पश्चिम नेपाल खानेपानी प्रबन्ध, गिभिना मगर (सामाजिक अभियन्ता), जुनु पुन (समाज सेवी) त्यस्तै बेलायतमा फ्रीम्ली पार्क हस्पिटल क्यान्सर रिसर्च र फार्नहाम हस्पिसमा सहयोग गरिसकेको छ । त्यस्तै बुद्ध बिहार लन्डनका लागि १ हजार ५०१ पाउन्ड, पहिलो गोर्खा भीसी कुलवीर थापाको सालिक बनाउन १ हजार १ पाउन्ड सहयोग गरिसकेको छ ।
गायक तथा सर्जक प्रसाद खप्तरी मगर जो दुवै मिर्गौला पीडितलाई सहयोग (खप्तरी मगर हाल भ्रमणको क्रममा बेलायत आएका छन् ), त्यस्तै २०२० को बीबीसीको १०० जना प्रभावकारी महिलाहरूको छनोटमा परेकी बेवारिसे लासको दाहासस्कार गरिदिने सपना रोका र गोर्खा वुमन एन इको इन द स्टोरीका संस्थापक गोर्खा महिलाहरूको बारेमा अनुसन्धानकर्ता सुजाना थापा श्रीसलगायतलाई पनि सहयोग गर्दै आइरहेको छ । यस पटक भने लल्ली रकाल र जमुना सार्की दुवै जना क्यान्सर पीडितलाई सहयोग गर्ने भएको छ ।

नानु रानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव जमुना थापाले सञ्चालन गरेकी थिइन । युवा आरती थापाले स्वास्थ्य सुरक्षाबारे र उपाध्यक्ष पार्वती थापाले स्वागत मन्तव्य दिएका थिए । अध्यक्ष राना मगरले उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समापन गरेकी थिइन् ।