अल्डरसट । मातातीर्थ औंसीको पावन अवसरमा अल्डरशटस्थित शिव मन्दिरमा दिवा भोजन तथा सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रमका लागि अल्डरसट, फार्नबोरो तथा वरपरका क्षेत्रका लगभग ८५ जना आमाहरुलाई निमन्त्रणा गरी सम्मानपूर्वक दिवा भोजन गराइएको थियो। सहभागी आमाहरुमा विभिन्न उमेर समूहका थिए भने ज्येष्ठ आमाको उमेर ८७ वर्ष रहेको थियो ।
दिवा भोजनपछि फार्नबोरो साई सेन्टरका स्वयंसेवी नर्सहरू र शिव मन्दिरका सदस्यहरूले आमाहरूलाई शरीरका विभिन्न भागको विशेष मसाज, नङ काट्ने, कपाल कोर्ने, तेल लगाइदिने जस्ता सेवाहरू प्रदान गरेका थिए । मन्दिरका गुरुहरु पण्डित राजकुमार धितालबाट माता तीर्थ औंशीको महत्व र सुरुवातका बारेमा जानकारी गराएसँगै सुरु गरिएको कार्यक्रममा मन्दिरका अर्का पण्डित शिव वल्लभ रेग्मी, संरक्षक तथा ट्रस्टी वाचस्पति रेग्मी, संरक्षक तथा ट्रस्टी रोहित गुरुङ, समाजसेवी शान्ति थापा, उदय कुँवर, कोषाध्यक्ष निरज तिवारी, सहकोषाध्यक्ष किशोर गुरुङ, सदस्य अनिता गुरुङ, सदस्य रुपेश काफ्ले, कार्यक्रममा तमुधीं बेलायतकी फर्स्ट लेडी कमला गुरुङ, तमुधीँ बेलायतका अध्यक्ष तथा मन्दिरका संरक्षक जुमकाजी गुरुङ, जीआरएनसी अध्यक्ष मन्दिरका संरक्षक मान गुरुङ, बीएफबीएस गोर्खा रेडियोका संचालक योगराज राई, स्थानीय समाजसेवी डा. विशाल गुरुङ, व्यवसायी विमल गुरुङ, गोर्खा चौतारी संयोजक क्याप्टेन विष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सामग्रीहरुको बन्दोबस्तीदेखि खानपान र सेवा कार्यमा फार्नबोरो साई सेन्टरका स्वयंसेवकहरूको मुख्य सहयोग रह्यो । साईं सेन्टरका स्वयंसेवीहरु सदा यस्ता सेवामा अग्रस्थानमा छन् । मटर पनीरको तरकारी युवराजबाट प्राप्त भएको थियो भने चनाआलु को तरकारी अरविन्द सहानी बाट प्रायोजित थियो ।
कार्यक्रममा कलाकार पौल गुरुङले कथक् नृत्य प्रस्तुत गर्दा प्रतिमा सुनुवारले आफ्नो बेजोड नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन् । समारोहको सञ्चालन मन्दिरकी महासचिव सुष्मा गुरुङले गरेकी थिइन् । जीआरएनसी अध्यक्ष मान गुरुङले आमाहरुलाई स्वास्थ्यका लागि उपयोगी ताईची अभ्यास गराएर सिकाएका थिए ।
कार्यक्रमका अध्यक्ष बिक्रम भट्टराईले आमाहरुलाई एकपटक आँखा चिम्लेर आफ्नी आमाको अनुहार सम्झन आग्रह गर्दा धेरैजना आमाहरु भावुक भएका थिए । उनले शिव मन्दिरबाट पहिलोपटक आयोजना गरिएको यस्तो कार्यक्रमले आमाप्रतिको श्रद्धा र सम्मान व्यक्त गर्न ठूलो सन्देश दिएको बताए ।
कार्यक्रमको अन्त्यमा आमाहरुलाई मन्दिरको तर्फबाट सम्झनाका रूपमा एक थान कप, सनराइज सप्लायर्सका संचालक निरज खड्काको प्रायोजनमा डाइजेस्टिभ बिस्कुट तथा मिठाई प्रसाद प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको थियो ।
कार्यक्रममा करिब १२० जनालाई सादा भात, मासको दाल, पनीरको तरकारी, अचार, पुरी, तरकारी, दही र चियाको व्यवस्था गरिएको थियो। शिव मन्दिर परिवारले यस्तो कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।



