अल्डरसट । सांसद एलेक्स बेकरले नेपाली समुदायका स्थानीय अगुवासँग एल्डरसट टाउन फुटबल क्लबको आगामी वेम्बली यात्राबारे छलफल गरेकी छन् । आइतबार सांसद बेकर र क्लबका अध्यक्ष साहिद अजिमले छलफल आयोजना गरेका हुन् ।
आगामी ११ मेमा एल्डरसट टाउन फुटबल क्लबले वेम्बलीमा एफए ट्रफीको फाइनल खेल्दैछ । क्लबले ९९ वर्षपछि उक्त प्रतियोगिताको फाइनल खेल्न लागेको हो । सोही ऐतिहासिक क्षणमा नेपाली समुदायलाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
प्रतियोगितामा जान इच्छुक नेपाली समुदायका व्यक्तिहरूलाई कसरी जाने, टिकट कसरी उपलब्ध गराउने, टिसर्ट कसरी उपलब्ध गराउने विषयमा सांसद बेकरले आफ्नो भनाइ राखेकी थिइन् । उनले उपस्थित भएर सहयोग गरिदिन अपिलसमेत गरेकी थिइन् ।

सो अवसरमा नेपाली समुदायको तर्फबाट के सहयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो ।
छलफलमा एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ र सदस्य दिलराज गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, एम्पायर हलका मेनेजिङ डाइरेक्टर पुरन गिरी, राजन गुरुङ, मिलन गुरुङ, काउन्सिलर धन सार्की, बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङ, नेपालकी राष्ट्रिय खेलाडी सिर्जना सिंह ठकुरी, शैलेश थापा, निकिता गुरुङ, किरण थापा मगर, राजेन्द्र गुरुङ, विजय नेपालगायत उपस्थित थिए ।

छलफल आयोजना गरेकामा सांसद बेकरलाई नेपाली समुदायको तर्फबाट एनआरएनए आईसीसी सल्लाहकार सूर्य गुरुङले धन्यवाद दिएका थिए । उनले समुदायमा सबैलाई सम्पर्क गर्न भूमिका खेल्नसमेत अनुरोध गरेका थिए ।